काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन (ईभी) बजारमा ३० लाखदेखि ४० लाख रुपैयाँसम्मको मूल्य रेन्ज नयाँ प्रतिस्पर्धाको केन्द्र बनेको छ। चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता यो मूल्य समूहमा आधा दर्जनभन्दा बढी नयाँ ईभी सार्वजनिक भएका छन्।
नाइमा मोबिलिटी एक्स्पो र आगामी नाडा अटो शोलाई लक्षित गर्दै व्यवसायीहरूले एकपछि अर्को नयाँ मोडल नेपाली बजारमा ल्याएपछि ३०–४० लाख रुपैयाँको सेग्मेन्टमा प्रतिस्पर्धा तीव्र बनेको हो। ग्राहकको मूल्य क्षमता र बजारको मागलाई ध्यानमा राख्दै कम्पनीहरूले यही मूल्य रेन्जलाई लक्षित गरेको देखिन्छ।
पछिल्लो एक महिनामा बीवाईडी अट्टो १, टाटा पञ्च ईभी फेसलिफ्ट, चेरी क्यू३, प्रोटोन ईमास ५, आर्कफक्स टी१ र डोङफेङ नामी भिगो ई२ सार्वजनिक भएका छन्। कियाले भने सिरोस ईभी औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहे पनि बुकिङ सुरु गरिसकेको छ।
एउटै मूल्य रेन्जमा सात मोडल
यो मूल्य समूहमा भित्रिएका अधिकांश ईभी कम्प्याक्ट एसयूभी, अर्बन क्रसओभर र प्रिमियम ह्याचब्याक श्रेणीका छन्।
बीवाईडी अट्टो १ फेसलिफ्ट डाइनामिक र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसको मूल्य क्रमशः ३० लाख ७५ हजार र ३४ लाख ८० हजार रुपैयाँ छ। ३०.०८ किलोवाट–आवर र ३८.८८ किलोवाट–आवर ब्याट्री विकल्पमा उपलब्ध यसले क्रमशः करिब २३० र ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। दुवै भेरियन्टमा ४५ किलोवाटको मोटर र ३६० डिग्री क्यामेरा राखिएको छ।
टाटा पञ्च ईभी फेसलिफ्ट पनि यही मूल्य समूहमा प्रतिस्पर्धा गरिरहेको छ। यसको ३० र ४० किलोवाट–आवर ब्याट्री विकल्प छन्। ४० किलोवाट–आवर संस्करणले ४६८ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको पञ्चको मूल्य ३३ लाख ९९ हजार र ३७ लाख ९९ हजार रुपैयाँ छ।
नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा आएको चेरी क्यू३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसको मूल्य क्रमशः ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पो अफरमा भने ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँबाट बुकिङ गरिएको थियो। ४१.२ किलोवाट–आवर ब्याट्री भएको क्यू३ ले करिब ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
थपिए नयाँ प्रतिस्पर्धी
प्रोटोन ईमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। प्राइममा ३०.१२ किलोवाट–आवर र प्रिमियममा ४०.१६ किलोवाट–आवर ब्याट्री प्रयोग गरिएको छ। यी भेरियन्टले क्रमशः २२५ र ३२५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यसको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ छ।
आर्कफक्स टी१ पनि ३०–४० लाख रुपैयाँको सेग्मेन्टमा प्रतिस्पर्धी बनेको छ। यसको एलभी २ को मूल्य ३२ लाख ९६ हजार र एलभी ३ को मूल्य ३५ लाख ९६ हजार रुपैयाँ छ। ४२.३ किलोवाट–आवर ब्याट्री भएको टी१ ले पूर्ण चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
नाडा अटो शोलाई लक्षित गर्दै सार्वजनिक गरिएको डोङफेङ नामी भिगो ई२ को सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको बजार मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। ५१.८७ किलोवाट–आवर ब्याट्री भएको भिगो ई२ ले ३५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। यसमा ९९ किलोवाटको मोटर र १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ।
यही मूल्य समूहमा कियाको सिरोस ईभी पनि प्रतिस्पर्धामा आउने तयारीमा छ। नाइमा एक्स्पोमा यसको बुकिङ खुला गरिएको थियो। सुरुवाती १०० ग्राहकका लागि ३५ लाख ९९ हजार रुपैयाँमा बुकिङ गरिएको सिरोसमा ४२ किलोवाट–आवर ब्याट्री रहने र ४४३ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।
कर संरचनाले सघायो मूल्य निर्धारणमा
व्यवसायीहरूले चालु आर्थिक वर्षको कर संरचनाका कारण ३०–४० लाख रुपैयाँको मूल्य रेन्जमा ईभी उपलब्ध गराउन सम्भव भएको बताएका छन्।
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले ग्राहकको माग र चालु आर्थिक वर्षको बजेटअनुसार कर संरचनालाई ध्यानमा राखेर नामी भिगो ई२ को मूल्य निर्धारण गरिएको बताए।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ईभीको कर निर्धारणमा परिवर्तन गरिएको छ। मोटरको किलोवाट क्षमताका आधारमा कर निर्धारण गर्ने पुरानो प्रणाली हटाएर गाडीको खरिद मूल्य (सीआईएफ) मा आधारित संरचना लागू गरिएको छ।
कुन मूल्यमा कति हरित शुल्क ?
संशोधित व्यवस्थाअनुसार विद्युतीय यात्रुवाहक सवारीमा २० प्रतिशत भन्सार महसुल कायम छ। पुरानो अन्तःशुल्क हटाएर हरित शुल्क लागू गरिएको छ।
भन्सार मूल्यअनुसार २० लाख रुपैयाँसम्मका ईभीमा २.५ प्रतिशत, २०–३० लाखमा २० प्रतिशत, ३०–४० लाखमा ३५ प्रतिशत, ४०–५० लाखमा ९० प्रतिशत र ५० लाख रुपैयाँभन्दा माथिका ईभीमा १३० प्रतिशतसम्म हरित पूर्वाधार शुल्क लाग्ने व्यवस्था छ।
यसमा भन्सार, सडक निर्माण शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोडिन्छ। यही कर संरचना र ग्राहकको मूल्य क्षमतालाई आधार बनाएर व्यवसायीहरूले ३०–४० लाख रुपैयाँको सेग्मेन्टलाई अहिलेको ईभी बजारको मुख्य प्रतिस्पर्धात्मक क्षेत्र बनाएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्