काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) नुमान ओज्कानबीच भएको उक्त छलफल विशेषतः आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, सचेतना, आपत्कालीन सहयोग, पुनर्स्थापना तथा फर्किएका श्रमिकको सीप उपयोगलगायतका विषयमा केन्द्रित भएको थियो।
छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था, साझेदार निकाय तथा प्रवासी नेपाली समुदायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
एनआरएनएको भूमिका
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विभिन्न देशमा आप्रवासी श्रमिकसँग सम्बन्धित समस्या फरक–फरक भए पनि धेरै देशमा समान प्रकृतिका चुनौती रहेको बताएका थिए। एनआरएनएले लामो समयदेखि नेपाली श्रमिकको हकहित र संरक्षणका लागि काम गर्दै आएको स्मरण गर्दै उनले कोभिड–१९ महामारीका समयमा समेत दुई संस्थाबीच भएको सहकार्यबाट धेरै नेपाली श्रमिक लाभान्वित भएको उल्लेख गरेका थिए।
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले आप्रवासी नेपालीसम्म जानकारी पुर्याउन प्रत्यक्ष सम्पर्क र समुदायमा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले सुरुवातमा कम्तीमा थोरै संख्याबाट यस्ता कार्यक्रम सुरु गरेर क्रमशः विस्तार गर्न सकिने धारणा राखेकी थिइन्।
आईएलओको सुझाव
आईएलओका नेपाल प्रमुख नुमान ओज्कानले आप्रवासी श्रमिकहरूको आवाजलाई सशक्त रूपमा उठाउन, विश्वभर रहेका नेपाली आप्रवासी समुदायलाई नेपालका सम्बन्धित संस्था तथा साझेदारहरूसँग जोड्न र संकट तथा कठिन परिस्थितिमा श्रमिकहरूलाई सहयोग गर्न एनआरएनएले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।
ओज्कानले आप्रवासनलाई सम्पूर्ण चक्रका रूपमा हेर्नुपर्ने बताउँदै वैदेशिक रोजगारीमा जानुअघि हुने तालिम, तयारी, सुरक्षा, लागत तथा अन्य प्रक्रियादेखि श्रमिक स्वदेश फर्किएपछिको अवस्थासम्म सरकारले व्यवस्थित प्रणाली बनाउनुपर्ने जनाए। सरकारले हाल के–कस्ता सेवा तथा व्यवस्था प्रदान गरिरहेको छ भन्ने अध्ययन गरेर त्यसमा एनआरएनए तथा अन्य संस्थाले थप के योगदान गर्न सक्छन् भन्ने पहिचान गर्नुपर्ने धारणा उनको थियो।
सहकार्यको आवश्यकता
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षा र कल्याणका लागि दुई संस्थबीच निरन्तर सहकार्य आवश्यक रहेको छलफलमा निष्कर्ष निकालिएको छ। आप्रवासी श्रमिकहरूले सामना गर्ने समस्याहरूको पहिचान गरी समाधान खोज्न संयुक्त प्रयास गरिने बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्