पश्चिम नवलपरासी । नारायणी नदीको बदलिँदो बहावसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित ऐतिहासिक नेपाली भूमि सुस्ता फेरि कटानको उच्च जोखिममा परेको छ। स्थायी तटबन्ध निर्माण हुन नसकेको क्षेत्रतर्फ यस वर्ष नदीको बहाव सोझिएपछि नेपाली भूमि, उखुबाली र नदी किनारका क्षेत्र कटान हुन थालेका छन्।
स्थानीयका अनुसार भारतको अवरोधका कारण ठेक्का सम्झौता भइसके पनि केही क्षेत्रमा स्थायी तटबन्ध निर्माणको काम अघि बढ्न सकेको थिएन। अहिले नदीले तटबन्ध नभएकै क्षेत्रबाट कटान तीव्र बनाएको छ।
कटान रोक्न अहिले अस्थायी रूपमा बोरामा माटो भरेर तटबन्ध निर्माण गर्ने र नदीको तीव्र बहाव नियन्त्रणका लागि ‘प्रकुपाइन’ राख्ने काम भइरहेको छ। साउनमा बस्तीमा भेल पसेपछि स्थानीय बासिन्दा एक साताभन्दा बढी समय दिनरात नदी किनारमा श्रमदानमा जुटेका थिए।
श्रमदानले नपुग्दा सरकारी टोली मैदानमा
निरन्तर नदी नियन्त्रणको प्रयासमा जुट्दा स्थानीयसमेत थाकिसकेका छन्। अहिले सङ्घीय सरकारअन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनले दैनिक ज्यालादारीमा कामदार परिचालन गरी अस्थायी तटबन्ध निर्माण गरिरहेको छ।
सुस्ता बचाउ अभियानका आदम हुसेन खाँका अनुसार नदीले स्थानीयले लगाएको उखुबालीसमेत कटान गर्न थालेपछि सुस्तावासी थप चिन्तित बनेका छन्।
उनले भने, “घाम लागे केही राहत हुन्छ, पानी पर्न थालेपछि मन आत्तिन्छ।”
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि सीमा विवादसँग समेत जोडिएको संवेदनशील क्षेत्र हो। भारतले सीमा दाबी गर्दै आएको ‘भेल्लोरको रुख’ समेत दुई साताअघि नारायणीको भेलले बगाएको स्थानीयले बताएका छन्।
सोही रुख नजिकसम्म करिब १३२ मिटर लामो तटबन्ध निर्माण गर्ने योजना भए पनि भारतीय अवरोधका कारण काम अघि बढ्न सकेको थिएन।
तटबन्ध भएको ठाउँ सुरक्षित, बहाव फेरिँदा नयाँ संकट
गत वर्ष नदी कटान भएको क्षेत्रमा सङ्घीय सरकारले ११ करोड रुपैयाँभन्दा बढी लागतमा करिब एक किलोमिटर लामो तटबन्ध निर्माण गरेको थियो। अहिले सो क्षेत्रमा कटानको जोखिम न्यून देखिए पनि यस वर्ष नारायणी नदीले बहावको दिशा परिवर्तन गर्दै तटबन्ध नभएको क्षेत्रतर्फ दबाब बढाएपछि सुस्ता फेरि संकटमा परेको हो।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका प्रमुख डा. नारायण सुवेदीका अनुसार अहिले करिब एक करोड रुपैयाँको लागतमा अस्थायी तटबन्ध तथा प्रकुपाइन निर्माण गरी नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
उनले भने, “हामी दैनिक रूपमा यहाँ खटिएका छौँ। सुस्ता भूमि बचाउने प्रयासमा विभिन्न तरिका अपनाएर बाढीको वेग नियन्त्रण गर्ने र सुस्तातर्फ बाढी छिर्न नदिन अस्थायी रूपमा भए पनि बलियो संरचना बनाउने काम भइरहेको छ।”
नदीसम्बन्धी विषयमा विद्यावारिधि गरेका सुवेदीका अनुसार नारायणी नदीले समय–समयमा आफ्नो बहावको दिशा परिवर्तन गर्ने भएकाले सुस्ता क्षेत्रमा नदी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।
उनका अनुसार बाँकी क्षेत्रमा पनि योजनाअनुसार स्थायी तटबन्ध निर्माण गर्न पाएको भए सुस्ताको जोखिम धेरै हदसम्म कम गर्न सकिन्थ्यो।
नारायणीको बदलिँदो धार, अधुरो तटबन्ध र सीमा विवादको जटिलताबीच अहिले सुस्ता फेरि आफ्नो भूमि जोगाउने संघर्षमा उभिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्