काठमाडौँ । राइड सेयरिङको काम गर्दै आएका एक युवक चोरीको स्कुटरसहित काठमाडौँबाट पक्राउ परेका छन्। प्रहरीले झापाको दमक नगरपालिका–७ घर भई काठमाडौँको नयाँ बसपार्कस्थित एक होटलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार खनाल नक्सालबाट भक्तपुर दरबार स्क्वायरसम्म एक यात्रुलाई स्कुटरमा लैजाँदै थिए। यात्रुले स्कुटरमै ल्यापटपको झोला बिर्सिएपछि चालक सम्पर्कविहीन भएका थिए। पीडितको आग्रहमा ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा खनाललाई चोरीको स्कुटरसहित पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा खनालले अर्कै व्यक्तिको राइड सेयरिङ आईडी प्रयोग गरेर काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनले स्कुटरमा परिवर्तित नम्बर प्लेटसमेत प्रयोग गरेको पाइएको छ।
प्रहरीका अनुसार उनले प्रयोग गरेको स्कुटर गत असार २३ गते काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुबाट चोरी भएको थियो।
मोटरसाइकल चोरीमा पनि संलग्न रहेको आशंका
केही समयअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले हराएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा एउटा मोटरसाइकलको डिक्कीभित्र खनालको नागरिकता फेला पारेको थियो।
त्यसका आधारमा खनाल लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको तथा अन्य मोटरसाइकलसमेत चोरी गरेको हुनसक्ने प्रहरीको आशंका छ।
खनाललाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। ट्राफिक प्रहरीले फेला परेको ल्यापटप भने सम्बन्धित धनीलाई बुझाइसकेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्