रसुवा । नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका सभापति बाबुलाल तामाङले पदबाट राजीनामा दिएका छन् । उनी विगत ४२ वर्षदेखि लगातार सो पदको जिम्मेवारी सम्हाल्दै आएका थिए, र सोमबार औपचारिक रूपमा लिखित राजीनामा बुझाएका हुन् ।
तामाङले आफ्नो राजीनामा पत्रमार्फत घरायसी र शारीरिक अवस्थाका कारण अब रेडक्रसको नेतृत्व गर्न नसक्ने बताएका छन् । उनले पत्रमा उल्लेख गरेका छन्, ‘विगत लामो वर्षदेखि यस जिल्ला शाखा सभापति पदमा रही कामकाज गर्दै आएको कुरा विदितै छ । मेरो घरायसी र शारीरिक अवस्थाले गर्दा यस जिल्ला शाखाको सभापति पदमा रही कामकाज गर्न नसक्ने भएकाले आजैका मितिबाट लागू हुने गरी सम्पूर्ण पदाधिकारी र सदस्य समक्ष यो राजीनामा दिएको छु’ ।
सभापति तामाङले आफ्नो राजीनामासँगै अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वर्तमान उप-सभापति देकिछोमो तामाङलाई सुम्पिएका छन् । रेडक्रसको पुस्तान्तरण र रुपान्तरण अभियानमा साथ दिँदै उनले पद छाडेको बताएका हुन्।
सुनसरी शाखा सभापतिका थापाद्वारा राजीनामा
त्यस्तै, सुनसरी शाखाका सभापति उमेश थापाले पनि पदबाट राजीनामा दिएका छन् । उनी नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत हुन् ।
थापाले राजीनामा पत्रमा घरायसी तथा अन्य विविध कारण देखाएका छन्, तर मानवीय संस्थामा दलको प्रभाव पर्न नदिन बाटो खाली गरेको बताइएको छ । सुनसरी शाखाका मन्त्री प्रकाश राईले थापाको राजीनामा स्वीकृत गरिसकेको जानकारी केन्द्रीय कार्यालयलाई पत्रमार्फत गराएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्