रसुवा । भोटेकोसी नदीमा पानीको बहाव उच्च भएपछि रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, रसुवाले सूचना जारी गर्दै नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो।
प्रशासनका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्नेछ। बाढीको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क गराइएको प्रशासनले जनाएको छ।
धादिङ जिल्ला प्रशासन कार्यालयले पनि छुट्टै सूचना जारी गर्दै नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले पनि गरायो सचेत
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान साढे ९ बजे विज्ञप्ति जारी गर्दै भोटेकोसी नदीमा पानीको बहाव उच्च रहेको जानकारी गराएको छ।
प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, रसुवाबाट प्राप्त जानकारीका आधारमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको हो।
सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले आवश्यक पूर्वतयारी गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न समेत आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्