काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकमै दोस्रो पटक दूरसञ्चार फ्रिक्वेन्सी वितरण गर्ने प्रक्रिया सुरु गरेको छ। नियामक निकायले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका दूरसञ्चार सेवाप्रदायकलाई फ्रिक्वेन्सी बोलकबोलमा सहभागी हुन आवेदन माग गरेको हो। यसअघि प्राधिकरणले २०७६ पुस २ गते पहिलो पटक १८ सय ब्यान्डमा नौ मेगाहर्ज फ्रिक्वेन्सी बोलकबोलमार्फत वितरण गरेको थियो।
साढे छ वर्षपछि दोस्रोपटक गर्न लागिएको फ्रिक्वेन्सीको बोलकबोल आठ सय मेगाहर्ज ब्यान्डको २५ मेगाहर्ज ब्यान्डविथ फ्रिक्वेन्सीका लागि रहनेछ। प्राधिकरणले जारी गरेको सूचना अनुसार, बोलकबोल प्रक्रिया दुई चरणमा अघि बढ्ने छ। पहिलो चरणमा आवेदक सेवाप्रदायकको पूर्वयोग्यता परीक्षण गरिने र त्यसपछि बहुचरणको सिलबन्दी बोलकबोल प्रक्रिया सुरु गरिने जानकारी दिइएको छ।
आवेदकका लागि योग्यता
प्राधिकरणले सूचनामार्फत आवेदकका लागि आवश्यक योग्यता पनि स्पष्ट पारेको छ। आवेदक सेवाप्रदायकले आधारभूत टेलिफोन सेवा वा मोबाइल सेवाको अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ। साथै, रोयल्टी, ग्रामीण दूरसञ्चार कोष र फ्रिक्वेन्सी दस्तुरबापत बुझाउनुपर्ने सबै शुल्क बुझाएको प्रमाण पनि पेल्नुपर्ने छ।
प्राधिकरणले ‘डिफल्टर’ घोषित गरेका सेवाप्रदायकहरू बोलकबोलमा सहभागी हुन अयोग्य हुने बताएको छ। त्यस्तै, आठ सय ब्यान्डमा यसअघि नै अधिकतम फ्रिक्वेन्सी प्राप्त गरिसकेका सेवाप्रदायक पनि योग्य मानिने छैनन्। यो व्यवस्था दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० बमोजिम गरिएको हो।
बोलपत्र खरिद र बुझाउने समयसीमा
प्राधिकरणका अनुसार, बोलकबोलमा सहभागी हुन योग्य सेवाप्रदायकले प्राधिकरणको कार्यालयबाट बोलपत्र खरिद गर्न सक्नेछन्। इच्छुक आवेदकहरूले आगामी ४५ दिनभित्र बोलपत्र बुझाउनुपर्नेछ।
सञ्चालनमा सीमित सेवाप्रदायक
दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरेका छ वटा सेवाप्रदायकमध्ये हाल नेपाल टेलिकम र एनसेल लिमिटेड मात्र सञ्चालनमा छन्। यद्यपि, एनसेलको फ्रिक्वेन्सी बक्यौता रहेको र अनुमतिपत्रको म्याद पनि नजिकिएकाले प्रक्रियामा सहभागी हुने विषय अन्योलमै छ। त्यसैले, बोलकबोलको प्रक्रिया एउटा मात्र सेवाप्रदायकमा सीमित हुन सक्ने सम्भावना देखिन्छ। यस्तो अवस्थामा नेपाल टेलिकमले आठ सय ब्यान्डमा तोकिएको फ्रिक्वेन्सी पाउने सम्भावना बढेको छ।
फोरजी विस्तारका लागि उपयोगी
फोरजी नेटवर्क विस्तारका लागि यो फ्रिक्वेन्सी विशेषगरी विकट र ग्रामीण क्षेत्रमा उपयोगी मानिन्छ। तल्लो ब्यान्डको फ्रिक्वेन्सी भएकाले यसको लागत कम हुन्छ र नेटवर्क सेवा प्रदान गर्न सक्ने क्षेत्र पनि बढ्छ।
पहिलो बोलकबोल
पहिलो पटक २०७६ पुस २ गते गरिएको बोलकबोलमा नेपाल टेलिकम र एनसेल दुवै सहभागी थिए। प्रतिमेगाहर्ज फ्रिक्वेन्सी (पेयर्ड) को आधार मूल्य तीन करोड ६० लाख रुपियाँ तोकिएको थियो। सोही अनुसार बोलकबोल सुरु भएको थियो। पहिलो चरणमा नेपाल टेलिकमले तीन करोड ७० लाख ८० हजार र एनसेलले तीन करोड ९० लाख ६० हजार रुपियाँ कबोल गरेका थिए।
पहिलो चरणमा एनसेलले उच्च मूल्य कबोल गरेपछि दोस्रो चरणको आधार मूल्य चार करोड १४ लाख रुपियाँ तोकिएको थियो। दोस्रो चरणमा नेपाल टेलिकमले चार करोड २० लाख र एनसेलले चार करोड ३२ लाख रुपियाँ कबोल गरेका थिए। तेस्रो चरणको आधार मूल्य चार करोड ५० लाख रुपियाँ थियो, जहाँ एनसेलले पाँच करोड ८० लाख रुपियाँ र टेलिकमले पाँच करोड एक लाख रुपियाँ कबोल गरे। अन्तिम चरणमा एनसेलले ७९ लाख रुपियाँ बढी कबोल गरेर नौ मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डविथ प्राप्त गरेको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्