काठमाडौं । चीनबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था कायम रहेकाले धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई तत्काल यात्रा नगर्न आग्रह गरिएको छ ।
उनले जोखिमका कारण ती जिल्लातर्फ जान लागेका सवारीसाधनलाई रोकिएको जानकारी दिए ।
सार्वजनिक सवारी सञ्चालन नगर्न आग्रह
ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई समेत धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ ।
सम्भावित बाढी, सडक अवरुद्ध तथा नदी आसपासमा थप जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।
नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत रोकिएको छ ।
बाढीको बहाव र जोखिमको अवस्था निरन्तर मूल्यांकन गरी सवारी आवागमनबारे थप निर्णय गरिने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्