काठमाडौं । रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा क्षति पुगेपछि खोज तथा उद्धार कार्य जारी छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर तथा ड्रोनसँग सम्बन्धित संघसंस्थालाई तत्काल खोज तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उद्धारका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन अनुरोध गरेको हो ।
उद्धारका लागि धुँवाबाट संकेत गर्न आग्रह
उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई आफ्नो स्थान पहिचान गराउन घर वा बसोबास गरिरहेको स्थानमा आगो बालेर धुँवाबाट संकेत गर्न प्राधिकरणले सुझाव दिएको छ ।
प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध हुन सक्ने भएकाले धुँवा तथा अन्य देखिने संकेतमार्फत उद्धार टोलीको ध्यान आकर्षित गर्न सकिने प्राधिकरणले जनाएको छ ।
उद्धारको प्रतीक्षामा रहेका नागरिकले सुरक्षित रहँदै उद्धार टोलीलाई आफ्नो अवस्थाबारे संकेत गर्न आग्रह गरिएको छ ।
आपत्कालीन सम्पर्कमा सम्पर्क गर्न आग्रह
प्राधिकरणले विपद्को समयमा आवश्यक सहायता तथा समन्वयका लागि उपलब्ध आपत्कालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन भइरहेको र थप स्रोतसाधन परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्