काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकालगायत देशका पर्यटक सम्पर्कविहीन भएका हुन्।
बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी पर्यटक छन् भने ९३ जना नेपाली नागरिक रहेका छन्। बाढीका कारण उनीहरूसँग तत्काल सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटन व्यवसायीहरूले उपलब्ध गराएको पछिल्लो विवरणका आधारमा उक्त संख्या देखिएको बताए।
उनका अनुसार पर्यटकहरूबारे थप विवरण संकलन भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको संख्या तथा अवस्थाबारे थप जानकारी आउने क्रममा रहेको शर्माले बताए।
बाढीका कारण रसुवाका विभिन्न पर्यटकीय क्षेत्रमा आवतजावत प्रभावित भएको छ भने सडक तथा पुलमा समेत ठूलो क्षति पुगेको छ। उद्धार तथा राहतका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्