काठमाडौं । सरकारले बाढीबाट प्रभावित तीन जिल्लाको विपद् व्यवस्थापन कोषमा थप २ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा रसुवा बाढीबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा र नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोषमा १–१ करोड रुपैयाँ तथा धादिङमा ५० लाख रुपैयाँ थप निकासा गरिएको जानकारी दिए।
यसअघि पनि सरकारले प्रभावित जिल्लामा आवश्यक राहत सामग्री पठाइसकेको मन्त्री खनालले बताए। उनका अनुसार सरकार अहिले प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत वितरण र सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ।
थप सहयोगका लागि सरकार तयार
मन्त्री खनालले प्रभावित क्षेत्रमा थप सहयोग आवश्यक परे सरकारले तत्काल आवश्यक निर्णय गरी स्रोतसाधन परिचालन गर्ने बताए।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको छ। धेरै घर तथा संरचनामा क्षति पुगेपछि स्थानीयवासी विस्थापित भएका छन्। सरकारले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा उद्धार कार्यलाई तीव्रता दिने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्