काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
विज्ञप्ति जारी गर्दै कार्कीले अकल्पनीय, हृदयविदारक तथा पीडादायी विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। कठिन घडीमा सुरक्षा निकायसहित समाजका विभिन्न तह र तप्काबाट देखाइएको मानवीयता, सहकार्य तथा ऐक्यबद्धता प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभएको छ।
शोक र जनधनको क्षतिमा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने समय आएको बताउँदै कार्कीले सबैलाई सकेको सहयोग गर्न आग्रह गर्नुभएको छ।
“आफ्नो गाँस काटेर भए पनि सहयोग गरौँ। सम्भव भएसम्म आउँदा चाडपर्वका केही खर्च कटाएर भए पनि आज संकटमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको जीवन जोगाउन र घरपरिवार सम्हाल्न योगदान गरौँ,” विज्ञप्तिमा उल्लेख छ।
उहाँले यो सहयोग जिम्मेवारी, आत्मीयता तथा मानवताको अभिव्यक्ति हुने बताउनुभएको छ।
नेपालमा मात्र नभई छिमेकी मित्रराष्ट्र चीनमा समेत बाढीका कारण ठूलो जनधनको क्षति भएको खबरले दुःखी बनाएको कार्कीले उल्लेख गर्नुभएको छ। चीनमा भएको क्षतिप्रति पनि उहाँले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।
“त्यहाँका पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। यस कठिन परिस्थितिको सामना गर्ने शक्ति चीनका जनतालाई प्राप्त होस् भन्ने कामना गर्दछु,” विज्ञप्तिमा भनिएको छ।
कार्कीले नेपाल र चीनका सम्बन्धित संयन्त्रबीच प्रभावकारी समन्वय तथा सहकार्यका साथ खोजी, उद्धार र राहतका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाइने विश्वाससमेत व्यक्त गर्नुभएको छ।
राहत कार्यमा जुट्न अपिल
पूर्वप्रधानमन्त्री कार्कीले प्राकृतिक विपद्बाट प्रभावित नेपाल र चीन दुवै देशका नागरिकलाई धैर्य धारण गर्न अपिल गर्नुभएको छ। उहाँले राहत तथा उद्धार कार्यमा जुट्न र आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ।
नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै कार्कीले यस विपद्ले दुई देशबीचको सहकार्य र मानवीय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्