काठमाडौं । चीनतर्फबाट भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसीमा कार्यरत विभिन्न सात बैंकका २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
बुधबार आएको बाढीले प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा तथा एक्स्टेन्सन काउन्टरमा क्षति पुर्याएको हो। ती बैंकमा कार्यरत २७ जनामध्ये २४ जना सम्पर्कविहीन भएको जनाइएको छ।
कुन बैंकका कति कर्मचारी सम्पर्कविहीन ?
प्रभु बैंकका टिमुरे र स्याफ्रुबेँसी शाखा बाढीले बगाएको छ। बैंकका अनुसार किशोर गौली र न्वाङवाङ तामाङ सम्पर्कविहीन छन्। टिमुरे शाखाका रमणलाल श्रेष्ठलाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ।
ग्लोबल आईएमई बैंकको टिमुरे शाखामा कार्यरत सात जनामध्ये फुर्पा मोक्तान सम्पर्कविहीन छन्। चार जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको र दुई जना स्थानीय भएकाले सुरक्षित रहेको बैंकले जनाएको छ।
सानिमा बैंकको टिमुरे शाखाका पाँचमध्ये सुभद्रा न्यौपाने र बुढा साङ घले सम्पर्कविहीन छन्। अन्य तीन जना बैंकको सम्पर्कमा आएका छन्। लक्ष्मी सनराइज बैंकका तीन कर्मचारीसमेत सम्पर्कविहीन छन्।
एनएमबी बैंकका टिमुरे शाखामा कार्यरत धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित सम्पर्कविहीन भएका छन्।
माछापुच्छ्रे बैंकका टिमुरे शाखाका पाँच जना कर्मचारी पनि सम्पर्कविहीन छन्। बैंकका अनुसार बाढी आउँदा उनीहरू कार्यालयमै थिए र ज्यान जोगाउन आ–आफ्नो दिशातर्फ भागेका थिए। तीमध्ये बासुदेव आचार्यलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात कर्मचारी पनि सम्पर्कविहीन छन्। बैंकका अनुसार शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ, भीमबहादुर खड्का, डोल्मा लामा र मुकेश खड्का सम्पर्कविहीन भएका हुन्। उनीहरू स्याफ्रुबेँसी, टिमुरे र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत थिए।
उद्धार तथा खोजी जारी
बाढीबाट टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रका बैंक शाखा तथा कर्मचारी प्रभावित भएका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्।
बाढीका कारण बैंकका कार्यालय तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्