काठमाडौं । भोटेकोसी बाढीमा परी घाइते भएका करिब ९०० जनालाई नेपाली सेनाको डाक्टरसहितको मेडिकल टोलीले प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा दिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट खटिएको डाक्टर अधिकृतसहितको मेडिकल टोलीले त्रिशूली र धुन्चेमा आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरेको हो।
त्रिशूलीमा स्थापना गरिएको अस्थायी उपचार केन्द्रमार्फत ३५४ जनालाई स्वास्थ्य सेवा दिइएको छ। त्यस्तै, फिल्ड एम्बुलेन्ससहित परिचालित मेडिकल टोलीले धुन्चे क्षेत्रमा ५४६ जनालाई स्वास्थ्य सेवा दिएको सेनाले जनाएको छ।
बाढी आएको केही समयमै नेपाली सेनाको टोली स्वास्थ्य सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको थियो। बुधबार नुवाकोटको त्रिशूलीमा तैनाथ भएको सेनाको टोली बिहीबार धुन्चेसमेत पुगेको थियो।
खोज तथा उद्धारमा सेना परिचालन
बाढीपछि हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई पनि नेपाली सेनाले तीव्र बनाएको छ। खोजीका क्रममा ड्रोन र सैनिक कुकुरसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।
रसुवा तथा नुवाकोटमा ४ हजार २ सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। त्यस्तै, नुवाकोटदेखि चितवनसम्म थप १ हजार २ सयभन्दा बढी सैनिक खोजी तथा उद्धार कार्यमा परिचालित छन्।
सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेको खोजी, उद्धार, आपत्कालीन उपचार तथा प्रभावित क्षेत्रमा राहत सामग्री वितरणको कामलाई निरन्तरता दिएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्