बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा हालै आएको बाढीका कारण उत्पन्न विपद्पछि उद्धार तथा राहत कार्यबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्युरोको बैठक राख्नुभएको छ ।
शुक्रबार बसेको बैठकले नेपालका बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय सहकार्य गर्ने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बैठकमा चीनको केरुङ काउन्टीमा तत्काल उद्धार कार्य सञ्चालन गरी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जानकारी दिइएको थियो । अत्यधिक चिसो मौसम तथा भिरालो भूभागका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बैठकमा उल्लेख गरिएको छ ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि वैज्ञानिक र प्रभावकारी योजना बनाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । साथै, बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजीलाई तीव्रता दिन बैठकले जोड दिएको छ ।
यसअघि भदौ १० गते राष्ट्रपति सीले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार चिनियाँ प्रधानमन्त्री ली छियाङले बिहीबार केरुङ क्षेत्रको भ्रमण गरी उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
बैठकले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ ।
चीनले नेपाल सरकारसँग समन्वय गरी उद्धार टोली परिचालन तथा राहत सामग्री उपलब्ध गराउने तयारी गरेको जनाएको छ । साथै, विपद्को सामना गर्न नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्न चीन तयार रहेको बताइएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्