काठमाडौँ । भारत सरकारले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन थप १२ टन राहत सामग्री पठाउने भएको छ। राहत सामग्री भारतीय वायुसेनाको सैन्य विमानमार्फत नेपाल ल्याइने जनाइएको छ।
Originally published on abcnews.com.np.
काठमाडौँ । भारत सरकारले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन थप १२ टन राहत सामग्री पठाउने भएको छ। राहत सामग्री भारतीय वायुसेनाको सैन्य विमानमार्फत नेपाल ल्याइने जनाइएको छ।
यसअघि भारतले दुई चरणमा गरी नेपाललाई ४७.५ टन राहत सामग्री उपलब्ध गराइसकेको छ। पहिलो चरणमा बुधबार राति साढे ८ बजे १० टन राहत सामग्री बोकेको भारतीय वायुसेनाको विमान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
त्यसैगरी, दोस्रो चरणमा बिहीबार बिहान ३७.५ टन राहत सामग्री नेपाल ल्याइएको थियो। भारतले विपद्मा परेका देशलाई तत्काल सहयोग गर्ने आफ्नो परम्पराअनुसार नेपालमा जारी उद्धार तथा राहत अभियानमा सहयोग गरेको जनाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाल र चीनमा सम्पर्कविहीन भएका भारतीय नागरिकको अवस्थाबारे काठमाडौँ र बेइजिङस्थित भारतीय राजदूतसँग छलफल गर्नुभएको छ। उहाँले भारतीय विदेश मन्त्रालयको सम्बन्धित डिभिजनले नेपालमा थप राहत सामग्री पठाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ।
भारतले यसअघि पठाएका राहत सामग्रीमा कम्बल, टेन्ट, सोलार बत्ती, औषधि, हाइजिन किट, पानी तान्ने पम्प तथा किचन सेटलगायत सामग्री छन्।
बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने बेली ब्रिजसमेत उपलब्ध गराउन भारत तयार रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जानकारी दिनुभएको छ।
नेपालमा भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी रहेका बेला भारतको थप सहयोगले प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्