ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीको कहर : एकै झट्कामा उजाडिए बस्ती


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं ।

‘तेता के–के हुँदैछ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु कलेजो
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार
चरी लैजा समाचार, हामी भयौँ बेघरबार।’

गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले गीत मात्रै रहेन। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बस्ने कैयौँ परिवारको पीडा बनेर गुञ्जिएको छ। केही दिनअघिसम्म सुन्दर देखिएका बस्ती अहिले बगरमा परिणत भएका छन्। कतिको ज्यान गएको छ, कति बेपत्ता छन् र कति घाइते भएका छन्। कसैको घर छैन, कसैको खेत छैन भने कतिपयको व्यवसायसमेत बाढीले बगाएको छ।

कतिपयले परिवारका सदस्य कहाँ छन् भन्ने खबरसमेत पाएका छैनन्। बुधबार बिहान आकाशबाट त्यस्तो ठूलो पानी परेको थिएन। गाउँबस्तीमा बाढी आउला भन्ने कुनै संकेत पनि थिएन। मानिसहरू दैनिक कामकाजमै व्यस्त थिए। कोही खाना खाँदै थिए, कोही विद्यालय जाँदै थिए, कोही कार्यालयको काममा लाग्दै थिए। कोही खेतबारीमा थिए भने कतिपय यात्रामा निस्किएका थिए।

तर, कसैलाई पत्तै नभई भोटेकोशी नदी एक्कासि उर्लिएर आयो। सामान्य अवस्थामा बगिरहेको नदीको आवाज एकाएक भयावह बन्यो। पानीसँगै ढुंगा, माटो, काठ र भग्नावशेषको भेल आयो। रसुवाको माथिल्लो तटीय क्षेत्रका नदी आसपासका बस्तीमा रहेका मानिसलाई सम्हालिन र सोच्नसमेत समय मिलेन।

वर्षौंको मेहनतले जोडेको सम्पत्ति केही मिनेटमै नदीको भेलमा मिसियो। नदी किनारका सडक र पुलसमेत बाढीको बेगसँगै बगे। अन्य ठूला भौतिक पूर्वाधार र यातायातका साधनलाई समेत भेलले बगायो।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका लागि भोटेकोशी बाढीले ल्याएको विपद्को त्यो क्षण अझै पनि सपनाजस्तै लागिरहेको छ। यति ठूलो विपद्ले गाउँबस्तीलाई यसरी तहसनहस बनाउला भन्ने उहाँले कल्पनासम्म गर्नुभएको थिएन।

“के–के भयो, भयो। अझै पनि अचम्म लागिरहेको छ। यस्तो महाविपद् आउला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। अहिले पनि यो सपना हो कि विपना जस्तो लागिरहन्छ,” टेलिफोन वार्तामा उहाँले भन्नुभयो।

बाढीले उजाडिएको बस्तीमा उद्धार तथा राहतका लागि स्थानीय तहको टोली परिचालन भइरहेको छ। तर, जहाँ हे¥यो, त्यहीँ पीडा छ। कतै भग्नावशेष छ, कतै आफन्तको खोजीमा रहेका परिवार छन् भने कतै घरबार गुमाएका मानिस छन्। विपद्पछिको कोलाहल र मानवीय पीडा सम्झँदा अध्यक्ष तामाङको मन भारी छ।

“बाढीले उजाडिएको बस्तीमा हामी उद्धारमा जुटिरहेका छौँ। यहाँको अवस्था र कोलाहल देख्नै सकिएको छैन। मन रोएको छ,” उहाँले भावुक हुँदै भन्नुभयो।

अहिले गाउँपालिकाको पहिलो प्राथमिकता घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र जीवित रहेकालाई तत्काल राहत उपलब्ध गराउनु रहेको उहाँले बताउनुभयो। यति ठूलो विपद्को सामना गर्न स्थानीय तहको आफ्नै स्रोत, साधन र जनशक्ति पर्याप्त नभएको उहाँको भनाइ छ।

“घाइतेको उद्धार गर्ने, बेपत्ताको खोजी गर्ने र बाँचेकालाई राहत उपलब्ध गराउने काममै लागिरहेका छौँ। तर यति ठूलो विपद्को प्रतिकार्य गर्न स्थानीय तहसँग मात्रै पर्याप्त क्षमता हुँदैन रहेछ,” अध्यक्ष तामाङले भन्नुभयो, “यस्तो अवस्थामा सबै तहका सरकार, सुरक्षा निकाय र सहयोगी संस्थाको समन्वय झन् महत्वपूर्ण हुने रहेछ।”

फेरि पनि यस्तै विपद् दोहोरिने हो कि भन्ने सन्त्रास कायमै रहेको उहाँले बताउनुभयो।

बाढीका दृश्यले देश–विदेश स्तब्ध

भोटेकोशी बाढीको खबर सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हुँदै एकाएक देशदेखि विदेशसम्म फैलियो। बाढीका भिडियो भाइरल बन्न थाले। भिडियोका दृश्यले सन्नाटा छायो।

बाढी आएको देख्नेबित्तिकै मानिसहरू ज्यान जोगाउन दौडिएको देखिन्थ्यो। कोही बालबालिका बोकेर भागिरहेका थिए। कोही वृद्ध आमाबुबालाई समातेर सुरक्षित स्थानतर्फ लागिरहेका थिए। कतिलाई भाग्दाभाग्दै बाढीले बगाएको देखिन्थ्यो। कतिले घरको छतमा आश्रय लिए भने कतिपय डाँडातिर भागेर ज्यान जोगाउन सफल भए।

एक वर्षअघि पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको थियो। उक्त बाढीका कारण चीन र नेपालतर्फ गरी अहिलेसम्म १९ जना बेपत्ता र सात जनाको मृत्यु भएको छ। फेरि सोही क्षेत्रमा यस वर्ष झन् ठूलो बाढीले तहसनहस बनाएको छ।

जलमापन केन्द्र बगाउँदा पूर्वसूचनामै चुनौती

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविज्ञलाई बुधबार बिहान कार्यालय आउनेबित्तिकै भोटेकोशीमा बाढी आएको सूचनाले झस्कायो।

खानी तथा भूगर्भ विभागबाट बिहान ८ः३७ बजे चीनतर्फको हिमाली क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको सूचना पनि आइसकेको थियो। त्यसको केही मिनेटपछि भोटेकोशी–स्याफ्रुबेंसी जलमापन केन्द्रलाई बाढीले बगाएपछि त्यहाँबाट तथ्यांक आउन बन्द भयो।

महाशाखाकी बाढीविद् सरस्वती विष्टका अनुसार बिहान ८ः४० बजे प्राप्त अन्तिम तथ्यांकअनुसार भोटेकोशी नदीको जलसतह १.६२ मिटर मात्रै थियो। उक्त केन्द्रमा सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर निर्धारण गरिएको छ।

बिहान ९ बजेपछि जिल्ला प्रशासन कार्यालय, रसुवा तथा बेत्रावतीमा रहेका जलमापन केन्द्रका कर्मचारीमार्फत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमा भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गर्न लागेको सूचना पुगेको थियो।

बाढी आएको जलमापन केन्द्रले तथ्यांक उपलब्ध नगराए पनि बाढीसम्बन्धी पूर्वसूचना सम्प्रेषण गरी जतिसक्दो चाँडो सर्वसाधारणको ज्यान जोगाउने काम गरिएको विष्टले बताउनुभयो।

“हामीले हेर्दा नदीको अवस्था सामान्य जस्तै देखिन्थ्यो तर त्यसको केहीबेरमै घटनाक्रमले अप्रत्याशित मोड लिएछ। अनि सूचना पाएलगत्तै सम्भावित जोखिममा रहेका बस्तीलाई खबर गर्ने काम सुरु भयो,” उहाँले भन्नुभयो, “अप्रत्याशित रूपमा आएको यो बाढीको पूर्वसूचना दिने समय नै कम भयो।”

उहाँका अनुसार बिहान ९ः१५ बजेतिर त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी आसपासका बासिन्दालाई प्रारम्भिक पूर्वसूचना एसएमएसमार्फत पठाइएको थियो।

त्यसको एक मिनेटपछि, ९ः१६ बजे नेपाल टेलिकम र एनसेलमार्फत त्रिशूली नदीको तटीय क्षेत्र तथा मुग्लिनसम्मका नागरिकलाई पुनः सतर्क गराइएको विष्टले जानकारी दिनुभयो।

६ लाख ७९ हजारभन्दा बढी मोबाइल एसएमएस

केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई जोखिमबारे जानकारी गराउन ६ लाख ७९ हजारभन्दा बढी मोबाइल एसएमएस पठाएको जनाएको छ।

केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ एसएमएस पठाएर भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई चरणबद्ध रूपमा सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो।

समयमै पुगेको पूर्वसूचनाका कारण धेरैको ज्यान जोगिएको धादिङस्थित नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले बताउनुभयो।

“उपल्लो तटीय क्षेत्रमा बाढी गएको खबर पाउनासाथ हामीले पूर्वसूचना सबैतिर सम्प्रेषण ग¥यौँ। त्यसपछि धेरै मानिस अग्लो तथा सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भए,” नगरप्रमुख ढुंगानाले भन्नुभयो।

हिम–चट्टान पहिरोपछि भोटेकोशीमा बाढी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको निष्कर्ष निकालेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको छ।

“स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा हिम–चट्टान पहिरो गएको देखिन्छ। त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ,” डा. उप्रेतीले भन्नुभयो।

बाढीको वास्तविक कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको बाढीविद् विनोद पराजुलीले जानकारी दिनुभयो।

४७ हिमतालको जोखिम कायमै

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एन्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एन्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा रहेका ४७ वटा हिमताल फुट्नसक्ने जोखिम रहेको देखाएको छ।

अध्ययनअनुसार नेपाल, भारत र चीनमा रहेका ४७ हिमताल खतरायुक्त अवस्थामा छन्। यीमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एउटा भारतमा छन्।

तीमध्ये केही हिमताल अत्यन्त संवेदनशील अवस्थामा रहेको र फुटेमा ठूलो मात्रामा जनधनको क्षति हुनसक्ने अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल फुट्दा नेपालले अर्बौं रुपैयाँभन्दा बढी आर्थिक क्षति व्यहोर्नुका साथै ठूलो मानवीय क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका कार्यक्रम तय गर्नसमेत सुझाव दिएको छ।

विपद्पछि मानसिक स्वास्थ्यमा पनि असर

अचानक आएको बाढी, आफन्त गुमाउनु, घरबारविहीन हुनु वा मृत्युको मुखबाट जोगिनुजस्ता घटनाले मानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्नसक्ने मनोचिकित्सकहरू बताउँछन्।

पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्कीले भोटेकोशी बाढीजस्ता विपद्का कारण मानिसमा गम्भीर मनोवैज्ञानिक असर पर्नसक्ने बताउनुभयो।

“बाढीका कारण घरबारविहीन हुँदा, आफन्त गुमाउँदा, घाइते भएर बाँच्नुपर्दा र फेरि पनि विपद् दोहोरिने हो कि भन्ने त्रासले मानसिक स्वास्थ्यमा प्रभाव पर्नसक्छ,” उहाँले भन्नुभयो, “कसैमा सामान्य तनाव देखिन सक्छ भने कसैमा गम्भीर मानसिक समस्या पनि उत्पन्न हुनसक्छ।”

विपद्पछि देखिनसक्ने प्रमुख मनोवैज्ञानिक समस्यामा एन्जाइटी र डिप्रेसन रहेको डा. कार्कीले बताउनुभयो। लामो समयसम्म तनावमा रहँदा निद्रामा समस्या हुने, डर र बेचैनी बढ्ने, दैनिक काममा रुचि घट्ने तथा निराशा बढ्नसक्ने उहाँको भनाइ छ।

“त्यसैले भोटेकोशी विपद् पीडितका सम्भावित मानसिक स्वास्थ्य समस्या निराकरण कसरी गर्न सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौँ। उहाँहरूलाई निःशुल्क परामर्श दिने गरी निःशुल्क हटलाइन सेवा ‘१११५’ को व्यवस्था गरेका छौँ,” डा. कार्कीले भन्नुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Forces, Settlers Attack Two West Bank Mosques

81st United Nations General Assembly Kicks Off Amid Climate Crisis

Clarion Call for National Unity in Nepal

Nepal’s Flash Flood: Unprecedented Disaster Exposes Climate Vulnerability

Nepal Seeks Climate Justice After Bhotekoshi Flood Disaster

Nepal Floods: Father’s Desperate Search for Missing Son

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu