गोरखा, १४ भदौ । त्रिशूली नदीमा आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वी राजमार्गअन्तर्गत चरौँदी जोड्ने झोलुंगे पुल बगाएको छ।
स्थानीय विनोद नहर्कीका अनुसार बिहान करिब ११ः३० बजे बाढीले पुल ढलाएर बगाएको हो। पुल बगेपछि गण्डकी गाउँपालिका–७ र ८ का स्थानीयलाई त्रिशूली नदी पार गरी राजमार्गतर्फ आवतजावत गर्न समस्या भएको छ।
घ्याल्चोकका करिब ४ सय घरधुरीका किसानले तरकारी तथा दूध चरौँदीस्थित कृषि सहकारीमा बिक्रीका लागि लैजाने मुख्य बाटो यही पुल थियो। पुल बगेपछि किसानलाई उत्पादित कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको स्थानीयले बताएका छन्।
यसअघि भदौ १० गते आएको बाढीले घ्याल्चोकभन्दा केही तल रहेको धवादीघाटको पुलसमेत बगाएको थियो। धवादीघाटको पुल बगेपछि स्थानीयवासीले घ्याल्चोकको पुल प्रयोग गर्दै आएका थिए। अहिले यो पुलसमेत बगेपछि आवतजावत थप कठिन बनेको स्थानीय विजय रूपखेतीले बताए।
घ्याल्चोक–चरौँदी जोड्ने झोलुंगे पुल १३० मिटर लामो थियो। उक्त पुल करिब ६ वर्षअघि निर्माण गरिएको थियो।
त्रिशूली नदीमा आएको बाढीबाट गोरखामा हालसम्म तीनवटा झोलुंगे पुल बगिसकेका छन् भने एउटा पुलमा पूर्ण रूपमा क्षति पुगेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्