काठमाडौं । यही भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेकोछ।
काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै हालसम्म ४९ जना बाढीपीडित घाइतेको उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका वरिष्ठ मेडिकल रेकर्डर अधिकृत करमसिंह रानाका अनुसार उपचार गरिएकामध्ये ३४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
बाँकी घाइतेमध्ये उपचारका क्रममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको रानाले जानकारी दिए।
हाल ट्रमा सेन्टरमा रहेका अन्य घाइतेको उपचार जारी रहेको अस्पतालले जनाएको छ।
भोटेकोसी बाढीपछि गम्भीर तथा घाइते अवस्थामा उद्धार गरिएका नागरिकलाई काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार गरिँदै आएको छ। बाढीबाट प्रभावितको उद्धारसँगै घाइतेको उपचार र स्वास्थ्य अवस्थाबारे सम्बन्धित निकायले निरन्तर समन्वय गरिरहेका छन्।
Originally published on abcnews.com.np.




प्रतिक्रिया दिनुहोस्