काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको हो।
विभागका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाहुनसक्ने विभागले जनाएको छ।
त्यस्तै, पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
राति पनि वर्षाको गतिविधि बढ्ने
विभागका अनुसार मंगलबार राति पनि देशभर सामान्यतया बदली रहनेछ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बाढी र पहिरो प्रभावित क्षेत्रमा थप जोखिम
पछिल्ला दिनमा लगातार वर्षा भइरहेको तथा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङलगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट ठूलो क्षति भइसकेको अवस्थामा थप वर्षाको पूर्वानुमानले खोज तथा उद्धार, राहत वितरण र सडक सञ्चालनमा थप चुनौती सिर्जना गर्न सक्छ।
भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रका नदी तथा खोलानाला आसपासका बस्ती, पहिरो प्रभावित क्षेत्र र कमजोर भूभागमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ।
विशेषगरी उद्धार तथा राहतमा खटिएका टोलीले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर जोखिमपूर्ण क्षेत्रमा परिचालन तथा यात्रा व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्