काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणका लागि बेलारुसका आउटसाइड हिटर आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । कुड्रासोउको आगमनसँगै टोलीको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ ।
कुड्रासोउ कर्णाली शिवराजमा आबद्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरिसकेको छ । बेलारुसको राष्ट्रिय टोलीबाट खेलिसकेका कुड्रासोउले बेलारुस, पोल्यान्ड र इजरायलका विभिन्न क्लबबाट व्यावसायिक भलिबल खेलेको अनुभव राख्छन् ।
कर्णालीको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर तथा सहायक प्रशिक्षकमा दीपेन्द्रप्रसाद भट्ट रहेका छन् । पहल गहतराज मार्की खेलाडी रहेको कर्णालीले अक्सनमार्फत नृपध्वज बस्नेत, सुरज चुनारा, सनोज चौधरी, विनोद चन्द, सन्दीप लोहार, बलराम गुरुङ र सुनील ठकुल्लालाई टोलीमा भित्र्याएको थियो । यस्तै ‘ट्यालेन्ट हन्ट’मार्फत डम्बर बिसीलाई छनोट गरिएको छ ।
एनभीएलको पहिलो संस्करण भदौ १९ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सुरु हुँदैछ । कर्णाली शिवराजले प्रतियोगिताको पहिलो दिन नै अन्नपूर्ण स्पाइक किंग्ससँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्नेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्