काठमाडौं, भदौ १७ गते । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिले सबैलाई स्तब्ध बनाएको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गर्दै आङदेम्बेले बाढीका रूपमा आएको विपत्ति प्रलयकारी सुनामीजस्तो भएको बताउनुभयो । क्षणभरमै यति ठूलो क्षति नेपालले यसअघि व्यहोर्नु नपरेको उहाँको भनाइ थियो । विपद् कुन बेला र कसरी आउँछ भन्ने थाहा नहुने भन्दै उहाँले कांग्रेसले सदनमा पटक–पटक ‘विपद् जुनसुकै बेला आउन सक्छ, पूर्वतयारीमा लागौँ’ भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्नुभयो । आङदेम्बेका अनुसार नेपाली कांग्रेसले तत्काल बैठक बसेर पार्टी पङ्क्तिलाई परिचालन गर्ने तथा सरकारको उद्धार, राहत र पुनर्स्थापनाका प्रयासमा साथ दिने निर्णय गरेको छ । विपद्को यस घडीमा सबैको साझा कर्तव्य उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु रहेको बताउँदै उहाँले नेपाली कांग्रेस सरकारको साथमा रहेको स्पष्ट पार्नुभयो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्