काठमाडौं । भोटेकोशीको भीषण बाढीबाट ज्यान जोगाएर आएका रसुवाको टिमुरे र स्याफ्रुबेसीका बाढीपीडित अहिले सरकारको मुकामबाट करिब पाँच किलोमिटरको दूरीमा शरण लिएर बसिरहेका छन्। बाढीको केन्द्रविन्दु बनेका क्षेत्रबाट उद्धार गरिएका करिब तीन सय जना काठमाडौंको ठूलोभर्याङस्थित पहेँलो गुम्बामा आश्रय लिएर बसेका हुन्। उनीहरू भने अब कहाँ जाने भन्ने चिन्तामा छन्।
नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रबाट उद्धार गरी ल्याइएका उनीहरू विगत केही दिनदेखि गुम्बाको भुइँमा रात काटिरहेका छन्। तत्कालका लागि सुरक्षित स्थानमा आइपुगे पनि घर, परिवार र सम्पत्ति गुमाएका उनीहरू सरकारसँग दीर्घकालीन बसोबासको व्यवस्था गरिदिन आग्रह गरिरहेका छन्। उनीहरूको मुख्य चिन्ता छ– ‘अब फर्किने ठाउँ कहाँ छ?’
हेटौँडा–१५ की लक्ष्मी तामाङ पाँच दिनदेखि घाइते बुवाको स्याहार गर्दै गुम्बामा बसिरहेकी छन्। बाढी आउनुअघिसम्म उनको माइतीमा नौ जनाको परिवार थियो। दाइ, भाउजू, उनीहरूका तीन छोरा र आमा सबै एउटै घरमा थिए। अहिले उनीसँग भाग्यले बाँचेका बुवा कर्मछिरिङ मात्र छन्।
‘बाढी आयो भनेर भाग्दा लडेर पापाको खुट्टा भाँचियो, तैपनि उहाँ बाँच्नुभयो, अरू सबै गए,’ लक्ष्मी भक्कानिँदै भन्छिन्। उनको पीडा यतिमै रोकिँदैन। ‘नौ जनाको परिवारमा अब तीनजना मात्रै रह्यौँ। घर त मसानघाट नै भयो, लासहरू गनाइरहेको छ,’ उनी सुनाउँछिन्।
घाइते कर्मछिरिङ छोरीलाई रुन्चे हाँसोसहित ढाडस दिँदै भन्छन्, ‘जीवन यस्तै त हो।’ बाढीको भयावह क्षण सम्झँदै उनी भन्छन्, ‘बाढी आउँदै छ भने पनि धेरैले पोहोर जस्तै होला भन्ठाने। पोहोरजस्तै सोचेर कतिपय घरभित्रै पसे।’
तर यसपटक भोटेकोशीको बाढी अघिल्लोपटकको भन्दा फरक थियो। नदी किनारसम्म मात्रै आइपुग्ने बाढीले यसपटक घरका धुरीसमेत कटाएको कर्मछिरिङ बताउँछन्। ‘ठूलो आवाज आयो। बाढी आकाशमै जस्तो देखियो। त्यसको एकैछिनमा गाउँ हरायो,’ उनी भन्छन्।
मृत्युको मुखबाट उम्किएर काठमाडौं आइपुगेका पीडितहरू तत्काल सुरक्षित भए पनि भविष्यबारे अन्योलमा छन्। ‘हामी बाँच्नका लागि आयौँ। सरकारले बासको राम्रो व्यवस्था गरेर हामीलाई बचाओस्,’ लक्ष्मीको आग्रह छ।
गुम्बामा बसिरहेका अधिकांशको अवस्था उस्तै छ। ४९ वर्षीया डोल्मा तामाङलाई उद्धार भएर सुरक्षित स्थानमा आइपुगेकोमा राहत भए पनि अब कहाँ जाने भन्ने चिन्ता छ। ‘गृहमन्त्री नआउनुभएको भए हामी अहिले यहाँ हुँदैनथ्यौँ। कमसेकम यहाँ सुरक्षित आइपुगेको छु, अब यहाँबाट कहाँ जाने भन्ने चिन्ता लाग्न थालेको छ,’ उनी भन्छिन्।
६१ वर्षीय तेन्जेङ लामा पनि भविष्यको बाटो खोजिरहेका छन्। ‘मेरो बुहारी र भाइको ६ जनाको परिवारलाई बगायो। म यहाँ आइपुगेको छु। अब यहाँबाट कता जाने?’ उनी प्रश्न गर्छन्।
उनीसँगै रहेका ६७ वर्षीय दुब्बा लामा र सोनाम वाङदी लामाको पीडा पनि उस्तै छ। कसैका दाइ–भाइ बगेका छन्, कसैको परिवार मुस्किलले जोगिएको छ। आफ्नै गाउँ फर्किने इच्छा हुँदाहुँदै पनि बाढीले घर, परिवार र सडक सबै बगाएपछि तत्काल फर्किने अवस्था छैन।
एउटै हलमा सयौँ मानिस बस्दा घुटन हुने अवस्था रहेको दुब्बा बताउँछन्। त्यहाँ बस्ने सबैको साझा प्रश्न छ– अब के गर्ने? पैसा छैन, खाने व्यवस्था कसरी गर्ने?
तेन्जेङ सरकारले उनीहरूलाई तत्काल गाउँ फर्काउनुको सट्टा केही समय काठमाडौंमै बस्ने व्यवस्था मिलाइदिए हुने बताउँछन्। ‘तत्काललाई टहरामै भए पनि सरकारले हामीलाई बस्ने व्यवस्थापन गरिदिनुपर्यो,’ उनको आग्रह छ।
पेमा दोर्जे घलेको चिन्ता भने घर गुमाएसँगै नागरिकको आधारभूत परिचय र स्वामित्वसमेत गुम्ने हो कि भन्नेमा छ। ‘संघीय सरकारले त हामीलाई सुकुम्बासी नबनाओस्। अहिले घर छैन, जग्गा छैन, फर्किन सकिँदैन। सरकारले बस्ने वातावरण मिलाइदिए हुन्थ्यो,’ उनी भन्छन्।
उद्धार गरेर ल्याइएका पीडितको संख्या बढ्दै गएपछि व्यवस्थापनमा पनि चुनौती थपिएको छ। स्वयंसेवक छिरिङ टी तामाङका अनुसार स्याफ्रुबेसी र टिमुरेका करिब तीन सय विस्थापितले होल्डिङ सेन्टरमा शरण लिएका थिए। एउटै हलमा मानिसको संख्या बढेपछि टिमुरे क्षेत्रका विस्थापितलाई नजिकैको मुस्ताङ गुम्बामा सारिएको छ।
‘मानिस धेरै भएकाले टिमुरेकालाई मुस्ताङ गुम्बामा पठाएर स्याफ्रुबेसीकालाई यहाँ राख्ने प्रबन्ध गरिरहेका छौँ,’ तामाङले भने।
उनका अनुसार सरकारका प्रतिनिधिहरू विस्थापितको अवस्था बुझ्न र व्यवस्थापन हेर्न आए पनि उद्धारपछि थप सहयोग पर्याप्त रूपमा नआएको गुनासो छ। ‘सरकारले उद्धार गरेर यहाँसम्म ल्याएको छ, त्योबाहेक अरू केही सहयोग आएको छैन। हामीले व्यक्तिगत रूपमा सहयोग गर्न आउनेहरूबाट व्यवस्थापन गर्दै आएका छौँ,’ उनले भने।
रसुवाको स्याफ्रुबेसी र टिमुरेबाट करिब तीन सय बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा अस्थायी बसोबास गराइएको पुष्टि यसअघि प्रकाशित विवरणले पनि गरेको छ। त्यहाँ खाना, स्वास्थ्य उपचार र मनोपरामर्शको व्यवस्था मिलाइएको जनाइएको छ।
तर गुम्बाको अस्थायी छानोमुनि बसेका पीडितहरूको प्रश्न तत्कालीन राहतभन्दा परको छ—उनीहरू घर फर्कन सक्ने अवस्था कहिले आउँछ? घर र जमिन नै नरहेपछि उनीहरूको पुनःस्थापना कहाँ हुन्छ? र, बाढीले उजाडेको जीवनलाई राज्यले कसरी फेरि उभ्याउँछ?
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्