काठमाडौं । इरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले दुई रातअघि अमेरिकाले गरेको आक्रमणमा इरानका तीन सैन्य पाइलट मारिएकोजनाएको छ ।
रिभोलुसनरी गार्ड्स (आईआरजीसी) निकट मानिने तस्निमका अनुसार मारिनेमा मोज्तबा बघेरी, नौसेनाका हामेद ओकाती र वायुसेनाका होसेन महदाभियन रहेका छन् । तर उनीहरू कहाँ र कुन परिस्थितिमा मारिए भन्नेबारे एजेन्सीले थप विवरण दिएको छैन ।
तस्निमले छुट्टै रिपोर्टमार्फत इरानी सशस्त्र सेनाका थप ६ सदस्यको नामसमेत सार्वजनिक गरेको छ । उनीहरू पनि दक्षिणी इरानमा भएका अमेरिकी आक्रमणमा मारिएको जनाइएको छ ।
अमेरिकी आक्रमणमा १८ जनाको मृत्यु
अमेरिकाले लामो अन्तरालपछि अगस्ट ३१ र सेप्टेम्बर १ को रात इरानमा पुनः व्यापक आक्रमण गरेको थियो । अमेरिकी सेनाका अनुसार आक्रमणमा आईआरजीसीका हवाई प्रतिरक्षा प्रणाली, राडार, समुद्री सम्पत्ति, सञ्चार तथा अन्य सैन्य संरचनालाई लक्षित गरिएको थियो ।
इरानी अधिकारीहरूका अनुसार अगस्ट ३० देखि सेप्टेम्बर २ सम्मका अमेरिकी आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु र १४२ जना घाइते भएका छन् । मृतकमध्ये सर्वसाधारण तथा सैन्यकर्मी दुवै रहेको बताइएको छ ।
दक्षिणी होर्मोजगान प्रान्तको सिरिक क्षेत्रमा भएको आक्रमणमा एउटा विवाह समारोहसमेत प्रभावित भएको र त्यहाँ सर्वसाधारणको मृत्यु भएको इरानी पक्षले जनाएको छ । अमेरिकी सेनाले भने आफूले सर्वसाधारणलाई निशाना नबनाउने बताउँदै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
आईआरजीसी र बासिजका सदस्य पनि मारिए
इरानी रिभोलुसनरी गार्ड्सका अनुसार केर्मनसाह प्रान्तमा आईआरजीसी एयरोस्पेस फोर्सका चार सदस्य अमेरिकी आक्रमणमा मारिएका छन् ।
त्यस्तै, दक्षिणी इरानको लावन टापुमा बासिज अर्धसैनिक बलका तीन सदस्य मारिएको तस्निमले जनाएको छ ।
पछिल्लो आक्रमणपछि इरानले पनि क्षेत्रीय रूपमा अमेरिकी सेनालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । यससँगै अमेरिका–इरानबीच लामो समयदेखि जारी तनाव पुनः तीव्र बनेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्