काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो गएपछि मुख्य राजमार्गका सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड प्रभावित भएको छ । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले बिहान ४ देखि ६ बजेसम्मको अवस्थाका आधारमा सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय लिन आग्रह गरेको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध छ । नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्ड पनि बाढीपहिरोका कारण अवरुद्ध भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । गजुरी गाउँपालिका–२ चालिसे र परेवाभिर क्षेत्रमा भने एक लेनबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–३ भालखोरमा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
कर्णाली प्रदेशमा मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा मुगु–गमगढी सडक, कालीकोटको शुभकालिका गाउँपालिका र खाँडाचक्र क्षेत्रमा कर्णाली राजमार्ग, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा कर्णाली राजमार्ग तथा सल्यानको कपुरकोट गाउँपालिका–४ आरिङ्गाले फेदीमा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ विसापानीमा काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्