अब कुनै पनि बाहनामा इन्धन, यातायातदेखि बैंक र अस्पतालसम्म हडताल गर्न नपाइने भएको छ । विमानस्थलको सेवा अवरुद्ध गराउन नपाइने भएको छ । हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन तथा मर्मतसँग सम्बन्धित कुनै पनि सेवामा बन्द–हडताल गर्न नपाउने सरकारले स्पष्ट पारेको छ ।
डाँक, तार वा टेलिफोन सेवालाई समेत सरकारले अत्यावश्यक सेवामा राखेको छ । प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवामा अवरोध गरे अब कानुनबमोजिम कारबाही हुनेछ ।
सबै प्रकारको पर्यटकीय सेवालाई सरकारले बन्द–हडतालमुक्त क्षेत्रका रूपमा घोषणा गरेको छ । पर्यटकीय आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी कुनै पनि सेवामा अब बन्द–हडताल गर्न पाइनेछैन ।
हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन, भण्डारण र वितरणलाई पनि अब अवरोध गर्न पाइनेछैन । यसबाहेक सरकारले आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवालाई पनि अवरोध गर्न नपाइने अत्यावश्यक सेवामा सूचिकृत गरेको छ ।
अस्पताल र यससँग सम्बन्धित सबै प्रकारका सेवा अब अत्यावश्यक सेवाभित्र सूचीकृत भएका छन् । एम्बुलेन्स, औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवालाई समेत सरकारले अत्यावश्यक सेवामा राखेको छ । खानेपानीको सञ्चालन तथा वितरणलाई पनि अत्यावश्यक सेवाभित्र राखिएको छ ।
एलपी ग्याससहित अब कुनै पनि प्रकारको पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई अवरोध गर्न पाइनेछैन । दैनिक उपयोग्य वस्तुतर्फ खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ । विद्युत्सँग सम्बन्धित सेवामा पनि अवरोध गर्न नपाइने सरकारले स्पष्ट पारेको छ ।फोहोरमैलासँग सम्बन्धित सेवातर्फ फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, संकलन स्थल तथा व्यवस्थापनको कामलाई पनि अब रोक्न नपाइने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवा पनि हडतालमुक्त घोषित भएको छ । बिमासँग सम्बन्धित सेवालाई पनि कुनै पनि बहानामा अवरोध गर्न पाइँदैन । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्