सुर्खेत, २ जेठ । बिहानदेखि हराइरहेको मकालु एयरको कार्गो विमान बाजुरामा भेटिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान भेटिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विमानमा रहेका दुईजना चालक सकुशल छन् । सुर्खेत विमानस्थलका प्रमुख विनोद पन्तले पनि विमान बाजुराको दुर्गम हिलाचौरमा भेटिएको खबर आएको जानकारी दिनुभयो । विमान भेटिएको खबर आए पनि आधिकारिक पुष्टि हुन भने बाँकी छ ।
विमान भेटिएको भनिएको क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी भइरहेको त्रिभूवन विमानस्थल कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले विमानमा सामान्य क्षति पुगेको जानकारी पाएको तर आधिकारिक कुरा आउन बाँकी नै रहेको र विमानको खोजीका लागि टोली खटाएको जनाएको छ । विकट क्षेत्र रहेको र मौसम पनि राम्रो नभएकाले थप विवरण आउन ढिलो भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्