सुर्खेत, २ जेठ । आज विहान वेपत्ता भएको मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त भएको छ । जहाज हुम्लाको खार्पूनाथ गाउँपालिकाकोे लामा डाडाँ माथीको बाहुनखर्कमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाग्रस्त अवस्थामा भेटिएको उक्त जहाज टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको सुर्खेत विमानस्थल प्रमुख विनोध पन्तले जानकारी दिएका छन ।
दुर्घटनामा परी उक्त जहाजका पाईलट र कोपाईलट दुबैको मृत्यु भएको छ ।
उनीहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ भने मृतकको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ । एजेयू–नाइन–एन कलसाइनको जहाज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोट उडेको थियो । दुर्घटनास्थल सिमकोटदेखि १० दशमलब ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ ।
डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताउनुभयो । जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो ।
बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्