काठमाडौं, २ जेठ । एमाले र माओबादी केन्द्रबीचको पार्टी एकतालाई गति दिन दुई दलका अध्यक्षबीच वान टु वान वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा पछिल्लो समय देखिएका असमझदारी अन्त्य गर्दै एकतालाई टुंगोमा पुर्याउने बिषयमा छलफल भएको हो ।
छलफलमा दुई दलबीच चाँडै एकता गर्ने सहमति भएपनि शीर्ष तहमा ठोस सहमती बन्न नसक्दा दुई पार्टीको एकता लम्बिदै गएको विषयमा गम्भिर रुपमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले दिए । यसबीचमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र आफ्नै पार्टीका दोस्रो तहका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
दुबै पार्टीका दोस्रो तहका नेताहरुले आपसी असमझदारीलाई स्पष्ट राख्दै एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेतृत्वमाथी दबाब दिईरहेको स्रोतले जानकारी दियो । दुवै अध्यक्षबीच सहमती बने आजै संयोजन समितीको बैठक बसी पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी रहेको एमाले निकट स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रसँगको एकता प्रक्रियाबारे छलफल गर्न एमालेले अपरान्ह स्थायी समिति बैठक बोलाएको छ ।
वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजे बस्ने बैठकले माओबादी केन्द्रसँगको एकता प्रक्रियामा हालसम्म भएका प्रगति र आगामी रणनितिबारे छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । आगामी आर्थीक बर्षको निति तथा कार्यक्रम प्रस्तुत हुनु अघि नै एकता प्रक्रियालाई टुंग्याउने हिसावले दुबै दलले गृहकार्य गरिरहेको माओवादी केन्द्रको उच्च श्रोतले जनाएको छ । सम्भवत ७ गते अघिनै पार्टी एकता हुन सक्ने स्रोतको दावी छ ।
प्रतिक्रिया दिनुहोस्