काठमाडौं, १ जेठ । एमाले र माओवादी केन्द्रबीचको एकताको अन्तिम चरणमा पुगेको दुवै दलका नेताहरुले बताएका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको वार्तापछि विहीवार या शुक्रवार एकताको घोषणा गर्ने गरी काम अघि बढाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
स्रोतले भन्यो ९९ प्रतिशत काम सकिइसक्यो’, ‘अब १ प्रतिशत मात्र काम बाँकी छ ।’ दुवै अध्यक्षको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट एकै दलको नामबाट ल्याउने गरी सहमति भएको हो ।
त्यसका लागि केही प्राविधिक र कानुनी काम बाँकी रहेकाले त्यसको गृहकार्यका लागि दुवै पार्टी व्यस्त रहेका छन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले दुवै दल अब सघन तयारीमा लागेको र संसदमा नीति तथा कार्यक्रम पेस हुनुभन्दा पहिले नै पार्टी एकताको घोषणा गरिने बताउनुभयो ।
एमाले सचिव योगेश भट्टराईले आज बिहानको बैठकबाट धेरै कुरा टुंगो लागिसकेको र बाँकी कुरा एकता समायोजन समितिको बैठकबाट मिलाइने बताउनुभयो ।
यस्तो छ पार्टी एकताको प्रक्रिया
एकताका लागि दुवै दलका केन्द्रीय समितिका बैठकले केन्द्रीय समिति विघटन भएको घोषणा गर्नुपर्नेछ । त्यसैगरी नयाँ दलको नाम, केन्द्रीय सदस्यको संख्या, चुनाव चिन्ह, तदर्थ समिति गठनलगायत विषयमा निर्णय गर्नुपर्छ । केन्द्रीय समितिका बैठक फरक–फरक बस्नेछन् । तर निर्णय भने एकै व्यहोराका हुनेछन् ।
त्यसपछि दुवै दललाई एक बन्ने कानुनी बाटो खुला हुनेछ । त्यसपछि, निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनेछ । नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र चुनाव चिन्ह सूर्य राख्ने , गणतन्त्र स्थापनामा जनयुद्धको भुमिकाका बारेमा सहमति भइसकेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्