काठमाडौं, २ जेठ । मुलुकका प्रमुख कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणासँगै हुने भएको छ।
बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि जानकारी दिँदै बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक बसेर पार्टी एकतासम्बन्धी निर्णय गर्ने जानकारी दिए।
‘दिनभर पार्टी एकताका लागि बाँकी काम हुन्छ र बेलुकी पार्टी एकताको घोषणा हुन्छ’, उनले भने। एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अोलीले बुधबार बिहान माअोवादी अध्यक्ष प्रचण्डसँग भएको सहमतिबारे जानकारी गराएका थिए।
दुई पार्टीका अध्यक्षबीच अब बन्ने पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ, जसमा २४१ एमालेबाट र २०० माअोवादी केन्द्रबाट रहनेछन्।
यसरी नै ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको अध्यक्ष अोलीले बैठकलाई जानकारी गराएका थिए। स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माअोवादी केन्द्रबाट रहनेछन्। यसरी नै महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको समेत उनले जानकारी दिए। विवादमा रहेको चुनाव चिह्नबारे भने सचिव भट्टराईले सूर्य नै हुने संकेत गरे।
उनले भने, ‘चुनाव चिह्नचाहिँ तपाईंहरूले अनुमान गरेकै हुन्छ।’ बुधबार बिहान एकताका विषयमा छलफल गर्न एमाले र माअोवादी केन्द्रका अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएपछि एमाले स्थायी कमिटीको बैठक डाकिएको थियो। दुवै अध्यक्षले बिहीबार बिहान पार्टी संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए।
प्रतिक्रिया दिनुहोस्