काठमाडाैं, ३ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ ।
आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो ।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसका दिन आज पार्टी एकताको ऐतिहासिक घोषणा हुन लागेकामा दुवै दलका कार्यकर्तामा उत्साह देखिएको छ ।
- नेतृत्व–केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले गर्ने । (ओली सरकारमा र प्रचण्ड पार्टीको संगठनमा बढी केन्द्रित हुने र पार्टीका निर्णयमा दुवै नेताको भूमिका बराबरी हुने समझदारी ) ।
- चुनाव चिन्ह सूर्य ।
- केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय (एमालेका २ सय ४१ र माओवादीका २ सय जना)
- स्थायी समिति ४३ सदस्यीय (एमालेका २५ र माओवादीका १८ जना) ।
- महाधिवेशन २ वर्षभित्र गर्ने ।
- सरकारको नेतृत्व फेर्नेबारे तत्काल केही उल्लेख नगर्ने ।
- मार्गदर्शक सिद्धान्त महाधिवेशनले टुंगो लगाउने तत्काललाई माक्र्सबाद–लेनिनबादलाई मार्गदर्शक सिद्धान्त मानिने । जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशन हुँदासम्म बहसमा लैजाने ।
प्रतिक्रिया दिनुहोस्