काठमाडौँ, ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता टुंगो लगाउन बाम एकता संयोजन समितिको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सयोजन समितिको वैठक सुरु भएको हो । एकता सम्बन्धी राजनीतिक र विधानसहितको संगठनात्मक प्रस्ताव तयार पार्न दुइटा कार्यदल बनेका थिए ।
बैठकमा एमाले उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, माओवादीका नेता जनार्दन शर्मा लगायत बालुवाटारमा छन् । झण्डै एक महिनापछि एकता संयोजन समितिको बैठक बसेको हो । संयोजन समिति बैठकले दुई दलका अध्यक्षबीच भएको सहमति अनुदोन गरि पार्टी एकताको समय निर्धारण गर्नेछ ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार आज एकता गर्नेगरी सहमति जुटेको थियो । एकताको पूर्वअभ्यासको संकेत दिन माओवादी नेताहरु पहिलो पटक आज मदन–आश्रित स्मृतिसभामा सहभागि भए ।
संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेम गौतम, महासचिव ईश्वर पोखरेल र माओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र महासविच राममबहादुर थापा छन् ।
एमाले र माओवादीबीच आज दिउँसो ४ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरि एकता हुँदैछ ।
आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी छ । संयोजन समितिको बैठक लगत्तै एमालेको केन्द्रीय समिति बैठक बस्नेछ, त्यसपछि माओवादीको केन्द्रीय कार्यालय बैठक बस्नेछ । तीन बजेसम्म आयोगमा दल दर्ता गरेर ४ बजे पत्रकार सम्मेलन गरेर एकता घोषणा गर्ने कार्यसूची छ । एकीकृत पार्टीमा ४४१ केन्द्रीय सदस्य, ४३ सदस्यीय स्थायी समिति र चुनाव चिन्ह सूर्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्