काठमाडौँ, ३ जेठ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब कम्युनिस्ट पार्टी एक हुने प्रक्रिया सुरु भएको बताउदै ‘नेपालमा कम्युनिष्ट पार्टीको फुट मात्र थियो। अब जुट्ने क्रम सुरु भएको छ। अब कसैले पार्टी फुटाउने छैन’ उनले भने।

मदन भण्डारी र जीवराज अश्रितको २५औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले ३ बजे एकताका लागि राष्ट्रियसभा गृहमा भेला हुन कार्यकर्तालाई निर्देशन दिए। नेपालको इतिहासमा आजको दिन सबैभन्दा महत्त्वपूर्ण रहेको उनले बताए। ‘कम्युनिष्ट एक भए भने देशमा अधिनायकवाद आउँछ भनेर केही केही साथीहरूले भनेका थिए’, उनले भने, ‘तर हामी शासन गर्न एक भएका होइनौँ। विकास गर्न एक भएका हौँ। हामी भ्रष्टाचार अन्त्य गर्न एक भएका हौँ।’ आजै पार्टी एकता हुने भन्दै उनले कार्यतालिका समेत सुनाए।