काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट अस्थिरता र अराजकताको पुरानो युग सकिए र नयाँ युगको सुरुवात भएको छन्। राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै उनले नयाँ युगको थालनी भएको बताएका हुन ।
उनले एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण भएको बताए। ‘देशले योभन्दा धेरै राजनीतिक अस्थिरता सहन सक्दैन, राष्ट्र र जनताको पक्षमा हामीले नयाँ इतिहास बनाएका छौं,’ उनले भने। पार्टी एकीकरणको घोषणा आफ्नै प्रस्तावमा भएको समेत उनको भनाइ छ।
मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता गर्न पाउँदा खुसी लागेको प्रचण्डले बताए।
जनताको भावनाअनुसार नै सबै वामपन्थी शक्तिहरु एक ठाउँमा जुटून् भन्ने चाहना हुँदा हुँदै पनि कम्युनिस्टबीच टुटफुट हुँदै आएको चर्चा गर्दै उनले भने, ुपार्टीभित्रकै मान्छेले पनि एकताबारे विभिन्न आशंका व्यक्त गर्ने गरेको उनले बताए। केही उतारचढाव आए पनि। तर समाज, राजनीति, चिन्तनको विकासमा केही संघर्ष घुम्ती मोड हुनु अस्वाभाविक होइन।
जनताको अगाडि गरेको संकल्प र प्रतिबद्धता पूरा गरेको उनको भनाइ थियो। मुख्य संकल्प अब जनतालाई सुखी बनाउनु र राष्ट्रलाई स्वाधीन बनाउनु नै हो, उनले भने, पार्टी एकताको उदेश्य सामाजिक न्याय र समाजवाद स्थापना नै हो।
सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने मुख्य लक्ष्य लिएर अघि बढ्ने उनले बताए। जनताको अगाडि गरेका प्रतिबद्धताबाट हामी कदापि पछि हट्नेछैनौं। स्थिरता, विकास र सुशासनको नयाँ युग सुरु भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्