काठमाडौं, ६ जेठ । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत सांसदहरुले पाउँदै आएको रकम कटौती गर्ने तयारी गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीको एकतापछि शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पहिलो संसदीय दलको एकीकृत बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको रकम कटौती हुने संकेत गरेका हुन्।
विकासका कार्यक्रमका मोडालिटीको टुंगो नलागिसकेकाले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको रकमलाई लिएर अनावश्यक उत्तेजनामा नआउन उनले सांसदहरुलाई निर्देशन दिए।
‘निर्णय तहमा पुगिनसकेका विषयमा अनावश्यक महत्व दिएर अनावश्यक सेन्टिमेन्टल नहुन आग्रह गर्छु’, उनले भने।
सरकारले यसअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्र्तगत हरेक निर्वाचन क्षेत्रले पाउने ३ करोड र प्रत्येक सांसदले सांसद विकास कोष मार्फत पाउने ५० लाख रुपैयाँ अर्को व्यवस्था नहुन्जेल रोकेको छ।
प्रतिक्रिया दिनुहोस्