रसुवा, ६ वैशाख । चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएको छ।
राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकखण्डको मैलुङ–स्याफू बेँसी सडकको आज मैलुङमा रिबन काटेर रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन।
उद्घाटनका लागि रक्षामन्त्री पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ रहेको निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिए ।
सडक उद्घाटन भएपछि गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनालाई आजै सडक हस्तान्तरण गरिनेछ । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताए।
सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो।
दुई वर्षसम्म बर्खाको समयमा चार महिना सवारी साधन सञ्चालन नगर्न सेनाले अनुरोध गरेको छ । १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक सिङ्गल लेनको बनाएको छ। १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ । सडक निर्माणका लागि अपुग भएको दुई करोड रकम अपुग आएको कार्यदलले जानकारी दिएको छ । नयाँ सडक निर्माण, सडकको स्तरोन्नती र बेलिब्रिज निर्माणमा रकम खर्च भएको हो।
प्रतिक्रिया दिनुहोस्