भक्तपुर, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते निधन भएका प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको परिवारलाई सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने बताउनु्भएको छ ।
लामिछानेको परिवारलाई प्रधानमन्त्री ओलीको तर्फबाट सान्त्वना दिन युवा संघ नेपालका तीन पूर्व अध्यक्ष अर्थात् नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यद्वय महेश बस्नेत र निरु पाल, प्रदेशसभा सदस्य राजीव पहारी लगायतका युवा टोली नगरकोटस्थित लामिछाने निवास पुगेका थिए।
प्रधानमन्त्री ओलीको सन्देश सुनाउँदै प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य बस्नेतले भने, “हामीले प्रधानमन्त्रीलाई आजै भेटेर हरि गुरुको परिवारको अवस्थाबारे जानकारी गरायौँ, प्रधानमन्त्रीजीले सरकारको तर्फबाट हरिगुरुको परिवारलाई आर्थिक सहयोग गर्ने बताउनुभएको छ ।
साथै, प्रदेश सरकारलाई पनि आर्थिक सहयोग गर्नका लागि सिफारिश गर्ने बताउनुभएको छ ।” बस्नेतले युवाबाट संकलन भएको रु एक लाख २० हजार लामिछानेको परिवारलाई हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिनुभयो ।
लामिछानेको परिवारलाई कूल सात लाख १२ हजार ८०५ आर्थिक सहयोग प्रदान गरिएको छ । बस्नेतसँगै नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले रु एक लाख, प्रधानमन्त्री केपी ओलीको परिवारको तर्फबाट प्रम पत्नी राधिका शाक्यले रु ५० हजार, एमाले चाँगुनारायण नगरपालिका ८ कमिटीले रु एक लाख ५४५, अनेमसंघ भक्तपुरले रु ८३ हजार २९० लगायत विभिन्न संघसंस्थाको तर्फबाट परिवारलाई नगद हस्तान्तरण गरिएको छ । आर्थिक सहयोगका लागि रकम संकलन गर्नेक्रम जारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्