काठमाडौं,७ जेठ । गृहमन्त्री रामबहादुर थापाले एक कार्यक्रममा सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी हरुलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएका डिआइजीहरुलाई आइतवार मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्वीकार्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यातायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्म रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईँहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिण्डिकेट हटाउनुहोस् ।”
उहाँले भ्रष्टाचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्नसमेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “गृहमन्त्रालयले तपार्इँहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ, सबै जिम्मेवारी आफैंमा महत्वपूर्ण छन् । हाम्रो अपेक्षा र विश्वास तपाईँहरुले पूरा गर्नुहुनेछ ।”
प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उहाँले निर्देशन दिनुभयो । यस्तै, अशान्ति र अस्थिरता फैलाउनेविरुद्ध कडारुपमा प्रस्तुत हुनसमेत प्रहरी अधिकारीलाई उहाँले निर्देशन दिनुभयो ।
निर्देशनका क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्