काठमाडौं, ८ जेठ । २०६५ भदौमा कोशीमा बाढी आएको केही समयपछि विराटनगर महानगरपालिका १३ स्थित मलाया रोडमा झण्डा सहित भारतले खडा गरेको भारतिय फिल्ड अफिस हटाउने भएको छ । विगत १० वर्षसम्म सो अफिस हटेको थिएन।
वैशाख २८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको फिल्ड अफिस हटाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रायलले कार्यालयको प्रयोजन समाप्त भएको र त्यहाँ रहेका सुरक्षाकर्मीहरूको स्थानान्तरण गरिएको जनाएको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि व्यवसायीको आग्रहमा व्यापार सहजीकरणका लागि भारतले अस्थायी कार्यालय खोलेको थियो।
शनिबार (जेठ ५ गते) नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विराटनगरमा रहेको फिल्ड अफिस हट्ने बताएका थिए।
‘विराटनगरको अफिस एउटा खास प्रयोजनका लागि राखिएको थियो, समय सन्दर्भ समाप्त भएपछि त्यो उठ्नपर्थ्यो। उठाउ भनेपछि उठाउनुपर्थ्यो, त्यो नउठाउने कुरा बेठीक हो अब विराटनगरको अफिस रहँदैन त्यो हटाइन्छ’, ओलीले बानेश्वर स्थित संसद भनवमा बसेको संसदीय दलको बैठकमा भनेका थिए।
दुई दलबीच एकता हुनुअघि संसदमा तत्कालिन माओवादीको सांसदको हैसियतमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे बोल्दै पम्फा भुषालले विराटनगरको फिल्ड अफिस हट्ने विषयमा प्रगति नभएकोमा आपत्ति जनाएकी थिइन्।
कोसीमा बाढीका बेला स्थापना भएको उक्त कार्यालय बन्द गराउन नेपाल सरकारले यसअघि पनि पहल गरेको थियो। परराष्ट्र मन्त्रालयले पत्र काटेरै दुतावासलाई फिल्ड अफिस हटाउन आग्रह गर्दा समेत अटेर गर्दै आएको थियो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएका बेला दुतावासलाई कार्यालय हटाउन पत्राचार भएको थियो।
प्रतिक्रिया दिनुहोस्