काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रमा नेता भट्टराईले कम्युनिष्टहरुबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “विगतमा हामी मागहरु पेश गर्ने हैसियतमा थियौँ, आज माग पूरा गर्ने जिम्मेवारीमा छौँ । सबै जनता र राष्ट्रको अगुवाइको जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रो काँधमा छ ।”
नेकपाका स्थायी कमिटीका पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्माले चौतारी र प्रेस सेन्टर नेपालको एकता र सशक्तताका लागि शुभकामना दिनुभयो ।
चौतारीका अध्यक्ष गणेश बस्नेतले दुई संगठनको एकताका लागि गठित कार्यदलको कार्यतालिकाअनुसार दुई संगठनको चाँडै एकता हुने जानकारी दिनुभयो ।
चौतारीसँग एकताका लागि शुक्रबार बिहान सेन्टर केन्द्रीय कमिटीको बैठक बस्ने र दिउँसो संयुक्त भेला गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्