बुटवल,३ असार । अवैध ढंगले सञ्चालन भएको आशंकामा प्रहरीले भैरहवाको नान्स होटलमा सञ्चालित मिनी क्यासिनोमा छापा मारेको छ । संघीय प्रहरी इकाई कार्यालय भैरहवाबाट खटिएको टोलीले क्यासिनोमा छापा मारेको हो ।
छापा मार्दा नेपाली ग्राहक भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली ग्राहकलाई कानुनले प्रवेशमा प्रतिबन्द लगाएको छ ।
२०६८ वैशाख १६ गते भैरहवास्थित होटल नान्समा मिनी क्यासिनो सञ्चालन गर्ने गरी रुपा इन्टरनेशनलले १० वर्षे सम्झौता गरेको थियो । रुपाका सञ्चालक मनोज सुवेदी र हयाप्पी आवरका सञ्चालक सुरेन्द्रबहादुर सिंहबीच केही समयपछि विवाद हुँदा उक्त विवाद अदालतमा पुगेको थियो ।
दुबै पक्षले अदालतमार्फत अन्तरिम आदेश लिई अहिलेसम्म दुबै स्थानमा क्यासिनो व्यवसाय सञ्चालन गरिरहेका छन् । होटल नान्सले सञ्चालन गरेको क्यासिनो अवैध भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको आधारमा सत्य तथ्य बुझ्न छापा मारिएको ढकालले बताए । उनले क्यासिनो सञ्चालन सम्बन्धी आधिकारिक कागजपत्र मागिएको बताए ।
प्रतिक्रिया दिनुहोस्