चितवन,४ असार। चितवनको नारायणगढ–मुग्लिनमा सवारी चलाउने र ओभरटेक गर्नेलाई प्रहरीले कारबाही अभियान सुरु गरेको छ । नारायणगढ–मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभरटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान सुरु गरेको हो ।
तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेपछि गति मापन गर्ने राडार गन कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए। ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको प्रहरी उपरीक्षक राठोरले बताए ।
उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुल समेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ । नारायणगढ-मुग्लिन सडकको ३६ किलोमिटर क्षेत्रमा अहिले सडक चौडा बनाई कालोपत्रे गर्ने काम सकिएपछि सवारी तीव्र गतिमा हिँड्ने गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढ-मुग्लिन सडकखण्डमा ‘टाइम कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ। यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्