इंग्ल्याण्डले भारतसँगको एक दिवसीय क्रिकेट शृङ्खला जितेको छ। पहिलो खेल गुमाएको घरेलु टोलीले त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै तीन खेलको शृङ्खलामा २–१ को जित निकालेको हो।
लिड्सको हेडिङ्गली मैदानमा मंगलबार राति भएको तेस्रो एक दिवसीयमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै शृंखला आफ्नो बनाएको हो। भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इंग्ल्याण्डले ४४ ओभर तीन बलमा दुई विकेट गुमाएर पुरा गर्यो।
उसका लागि जोए रूटले नटआउट शतकीय पारी खेले, उनले १२० बलमा १० चौकाको सहयोगमा १०० रन बनाए। यस्तै कप्तान इयान मोर्गनले १०८ बलमा ९ चौका र एक छक्काको सहयोगमा नटआउट ८८ रन बनाए। जेम्स विन्स २७ तथा जोनी बाइर्स्टोव ३० रन बनाएर आउट भएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले ७१ रनको सर्वाधिक पारी खेले। ७२ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए। यस्तै महेन्द्रसिंह धोनीले ४२ तथा शिखर धवनले ४४ रन बनाएका थिए।
यो हारसँगै भारतको सिरिज जितको यात्रामा ब्रेक लागेको छ। कीर्तिमानी यात्रामा अगाडि बढेको भारले अहिलेसम्म लगातार ९ वटा बाइल्याट्रल सिरिज जितेको थियो।
आयरल्याण्ड र इङ्ल्याण्ड भ्रमणमा रहेको भारतलेले पहिलो वान डे खेल ८ विकेटले जितेको थियो भने दोस्रोमा ८६ रनले पराजित भएको थियो। अब भारतलेले इङ्ल्याण्डसँग ५ म्याचको टेष्ट सिरिज खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्