बागो, म्यानमार, १४ भाद्र । अत्यधिक वर्षाका कारण म्यानमारको एउटा बाँध नाघेर पानी गएपछि झण्डै एक सय गाउँमा बाढीको असर परेको छ ।
आज बिहानै आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्र्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
बाढीका कारण कसैको मृत्यु भएको खबर अहिलेसम्म आएको छैन भने हजारौँ विस्थापित भएको र अस्थायी शिविरहरुमा राखिएको समाचारमा जनाइएको छ ।
स्वार चाउङ बाँधको संरचनाले थेग्न नसकेपछि ठूलो वर्षापछिको पानी बाँध नाघेर बाढीका रुपमा गाउँ र राजमार्गमा गएको अधिकारीहरुको भनाइ छ ।
बाढीका कारण याङ्गोनदेखि माण्डलासम्मको राजमार्गको पुल पनि भत्किएको छ । म्यानमारका दुई ठूला शहरबाट आवत जावत गर्न मुख्य आधारका रुपमा रहेको पुल भत्किएपछि ती शहरहरुको सम्पर्क टुटेको छ ।
“हामीसँग बाढीबाट प्रभावितहरुको यकिन तथ्याङ्क त छैन, तर बाढीले प्रभावित गरेका गाउँमा बस्नेहरुको जनसङ्ख्या झण्डै ५० हजारभन्दा बढी रहेको छ,” समाज कल्याण मन्त्रालयका निर्देशक फ्यु लाई तुनले एएफपीसँग भन्नुभयो ।
बाढी प्रभावित झण्डै एक सय गाउँका झण्डै १२ हजार घरपरिवारलाई बाढीले असर पारेको उहाँको भनाइ छ ।
म्यानमारको सेना प्रमुख मिन औङ हलाइङले पानी नरोकिएकाले बाढी पनि तत्काल रोकिने अवस्था नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्