काठमाडौं,३० भाद्र । बलात्कारपछि हत्या गरिएकी निर्माला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भइरहेको छ। देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन हुने बताइएको छ । केही ठाउँमा बिहानैदेखि प्रदर्शन भइरहेका भने ,काठमाडौंमा दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको छ।
प्रदर्शनमा सहभागीहरुले सरकारलाई दोषी पत्ता लगाउन आग्रह गरेका छन् । उनीहरुले निर्मलाको तस्बिर पनि बोकेका छन्।
घटनाको ५१औं दिन बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन। साथै, नियोजित रुपमा प्रमाण लुकाइएका वा नष्ट गरिएका खबरहरु सार्वजनिक भएका छन्।
प्रहरीले असम्बन्धित व्यक्तिहरुलाई यातना दिई घटनाका दोषी करार गर्न खोजेको भन्दै व्यापक विरोध भइरहेका छन्।
घटनामा उच्च तहकै व्यक्तिको संलग्नताको आशंका बढ्न थालेका छन्। गृहमन्त्रीले घटनाको दोषी छिट्टै पत्ता लगाई कारबाही गर्ने आश्वासन दिएता पनि उनको आश्वासनले मूर्तरुप पाउन सकेको छैन।
यही घटनाको विषयलाई लिएर संसद समेत अवरुद्ध भइसकेको छ भने केही दिनअघिको प्रदर्शनमा एकजना बालकको ज्यान गएको छ।
प्रतिक्रिया दिनुहोस्