सर्लाही , ८ चैत । सर्लाहीको बरहथवामा शनिबार राती एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ ।
बरहथवा नगरपालिकामा बस्दै आएका उदयपुरको सुरुंङ्गा नगरापालिकाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्माको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । रामजीले गएराती सुनितामाथी कोठामा सुतिरहेको अवस्थामा घाँटी, हात लगायत शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
श्रीमतीको हत्यागरी भाग्दै गरेका रामजीलाई प्रहरीले गएरातीनै पक्राउ गरेको छ । सुनिताको घटना स्थलमै ज्यान गएको थियो । मृतक सुनिता बरहथवास्थित चक्र जनता बहुमुखी क्याम्पस बरहथवामा शिक्षिकाको रुपमा कार्यरत थिईन् । रामजी अम्मर सुनचाँदी पसलमा कालीगढको काम गर्ने गरेका थिए । रामजीसँग दोस्रो विवाह गरेकी सुनिताकोे पहिलो श्रीमानतर्फ १५ वर्षकी छोरी समेत छिन् ।
आफू सुतिरहेका बेला श्रीमतीले खुकुरी प्रहार गर्न खोजेपछि सोही खुकुरी खोसेर आक्रमण गर्दा श्रीमतीको ज्यान गएको रामजीले बताएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको बरहथवाका प्रहरी निरीक्षक आमोद खेरवारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्