काठमाण्डौं, २३ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ ।
आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । कार्यसम्पादन समितीको बैठकमा राप्रपाले सरकारमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय पाउने जानकारी गराएको छ । राप्रपाले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा प्रतिनिधिसभाका लागि १० सिट र प्रदेश सभाका लागि ३० सिट माग गरेको छ ।
सत्तारुढ माओवादी केन्द्रले विपक्षी एमालेसंग चुनावी तालमेलसंगै एकता गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनको प्रयास थाल्नु भएको थियो । बहुमत पुगेमा माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी छ । कांग्रेसले राजपा, फोरम, राप्रपासहितका ६ दलको लोकतान्त्रिक गठबन्धन बनाएको छ । गठबन्धनमा आवद्ध दलहरुलाई सरकारमा समेट्न देउवाले लगातार छलफल गर्दै आउनु भएको छ । बैठकमा अधिकांश नेताहरुले लोकतान्त्रिक गठबन्धनमा जानुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्