काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भईरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शिर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले विपन्न बर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार सरकारले काम अघि बढाईरहेको बताउनुभएको हो । उहाँले वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाईएको उल्लेख गर्दे आगामी बर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भईसक्ने दाबी गर्नुभयो ।
नेपाल लगायत विश्वभर नै नसर्ने रोगका रोगीहरु तिब्र गतिमा बढ्दै गईरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निशुल्क गराएको र किड्नी ट्रान्सपलाण्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताउनुभयो । त्यसैगरी क्यान्सर लगायतका ८/ ९ किसिमका रोगहरु उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउदै आएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई रोक्न सक्ने कानुनी व्यवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान पछि छैन । व्यवस्था पनि छैन । विदेशमा उपचार गराउनेलाईसरकारले खर्च नदिने कानुनी व्यवस्था लागु भईसकेको कुरा निवेदन गर्न चाहन्छु । ”
उपचारका लागि विदेश जाने प्रचलन देखिएको भएपनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि संभव भएको भन्दै उहाँले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गर्नुभयो । सांसहरुले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठुलो रकम खर्च भएको भन्दै सांसदहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उहाँले स्वास्थ्य मन्त्रालय अन्र्तगतका कर्मचारी समायोजनको समस्या चाडै समाधान गर्ने प्रयास भईरहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्