काठमाडौं, १२ असार । किर्तिपुर नगरपालिकामा पूर्वाधार निर्माण, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा प्रविधिमैत्री नगर स्थापनाका लागि पहल भईरहेको छ । प्लाष्टिक पिचको अभ्यास गरिसकेको नगरपालिकाले जेष्ठ नागरिकलाई अहिले डाइबेटिज, उच्च रक्तचापको औषधि निःशुल्क वितरण गरिरहेको छ ।
किर्तिपुर नगरपालिका अन्तर्गतको तीनकुने नयाँबजार क्षेत्रमा लगभग १२ सय स्क्वायर मिटरको सडकमा प्लाष्टिक पिचको अभ्यास भयो । करिब १९ लाख ८० हजारमा सो कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ । पुनः प्रयोग गर्न नमिल्ने सुर्तिजन्य पदार्थको प्लाष्टिकको खोल लगायतका करिब ५ सय किलोग्राम जतिको विभिन्न प्लाष्टिकको खोलको प्रयोग गरि प्लाष्टिक पिचको अभ्यास गरिएको हो । भारत र भुटान लगायतका छिमेकी मुलुकमा प्लाष्टिक पिच सडकको अभ्यासपश्चात् नेपालमा पनि पोखरा पछि यो अभ्यास किर्तिपुरमा गरिएको हो । सामान्य पिच भन्दा बढी टिकाउ हुने र प्लाष्टिक पदार्थ नियन्त्रण गर्दै वातावरणमैत्री पूर्वाधारण निर्माण गर्ने लक्ष्यका साथ प्लाष्टिक पिच गरिएको नगरपालिकाले बताएको छ ।
त्यसो त, प्रविधिमैत्री शिक्षाका लागि पनि नगरपालिकाले पहल गरिरहेको छ । किर्तिपुर नगरका सामुदायिक विद्यालयहरुमा २ सय ओटा कम्प्युटर वितरण गरिएको छ भने नगरका विद्यालयहरुमा सूचना तथा प्रविधि सम्बन्धि तालिम दिइएको छ । आगामी आर्थिक वर्षमा नगरका सबै विद्यालयहरुमा ई–लाईब्रेरी स्थापना हुने लक्ष्य रहेको पनि नगरपालिकाले जानकारी दिएको छ ।
यसगरी किर्तिपुर नगरपालिकामा स्थानीय जेष्ठ नागरिकहरुका लागि डाईबेटिज र उच्च रक्तचापको औषधि निःशुल्क रुपमा वितरण भईरहेको छ । पक्षघातीहरुका लागि स्याहारसुसार भत्ता समेत वितरण भईरहेको नगरपालिकाले जानकारी दिएको छ । विशेष गरी स्वास्थ्य र शिक्षा केन्द्रित कार्यक्रमहरु भईरहेको कीर्तिपुर नगरपालिकामा बृहत ढल निकासका लागि लगभग ३ करोड बराबरको काम सम्पन्न भईसकेको नगरपालिकाले जानकारी दिएको छ ।
यसै गरि बाटो विस्तार अन्तर्गत ४ मिटरको बाटो ८ मिटरसम्म, ८ मिटरको बाटो १ किलोमिटर र २ किलोमिटर सम्म फराकिलो हुने कामहरु भएको नगरपालिकाले जनाएको छ । यसै गरि लैङ्गिक समानतालाई ध्यानमा राखेर नगरका उत्पीडित र दलित समुदायको परम्परागत पेशालाई संरक्षण एवम् सम्वद्र्धन गर्नका लागि पनि विभिन्न तालिम एवम् उपकरणहरु वितरणका कामहरु भईरहेको नगरपालिकाले जानकारी दिएको छ ।
प्रविधिमैत्री नगरका लागि कीर्तिपुर नगरपालिकाले लिएको पहलकदमीहरु स्वागतयोग्य छ । स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायत विभिन्न क्षेत्रमा कामहरु भए पनि खानेपानी, रोजगार र कृषि क्षेत्रको समस्या अझै पनि उस्तै रहेको नगरबासीको गुनासो छ । तसर्थ, नगर एवम् देश विकासका लागि प्रविधिमैत्री सँगसँगै स्वच्छ वातावरण निर्माणलाई पनि ध्यानमा राख्दै अघि बढ्न सके अझै उत्तम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्